विनोद मेहता आइतबार, मंसिर १२, २०७८
झापा ११ सहित आठ टिम प्रतिस्पर्धामा किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६८औँ जन्मोत्सवको अवसर पारेर १४औँ संस्करणको आत्मानन्द कप सुरु भएको छ । इलामको धार्मिक पर्यटकीयस्थल माङसेबुङमा शनिबार (आज) देखि उक्त गोल्डकप सुरु भएको हो । माङसेबुङ ५ स्थित आत्मानन्द खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन खेल माङसेबुङ गाउँपालिका खेलकुद समिति इलामले गोधुली क्लब धरान सुनसरीलाई ३–० गोलले हराएको छ ।
प्रतियोगिताअन्तर्गत भोलिको खेल बिबि. एफ.सि. दमक झापा र रेड हर्ष इलामबीच हुनेछ । प्रतियोगिताको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले गरेका थिए । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा माङसेबुङ गाउँपालिका खेलकुद समिति इलाम, गोधुली क्लब धरान सुनसरी, फिदिम स्र्पोटिङ क्लब पाँचथर, झापा–११ झापा, बीबीएफसी दमक झापा, रेडहर्ष इलाम, माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत र श्रीजङ्गा स्पोर्टिङ क्बल मोरङको सहभागिता छ । माने भञ्ज्याङ फुटबल क्लब दार्जिलिङ अघिल्लो संस्करणको समेत विजेता टिम हो ।
प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ । विजेता टिमले नगद ३ लाख १ सय ६८ रुपैयाँ र उपविजेता टिमले नगद २ लाख १ सय ६८ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइगर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी, बेस्ट कोचलगायतलाई पनि उचित नगद पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ । जन्मोत्सवको अवसरमा १७ मंसिरमा फुटबलका साथै अन्य विभिन्न किराती खेलहरु समेत सञ्चालन हुनेछन् । म्याराथुन, लठ्ठा तान्ने, हाँडी फुटाउने, पक्लुङ (छेलो), धनुकाँण, कराते, व्याटमिन्टन लगायतका खेलहरु समेत सञ्चालन हुनेछन् ।
म्यारथुनतर्फ साढे ५ किलोमिटर दुरीको माङसेबुङ चक्रपथको परिक्रममा गर्नुपर्नेछ । म्यारथुनमा प्रथम हुनेले नगद १० हजार १ सय ६८ रुपैयाँ, द्वितीय हुनेले नगद ८ हजार १ सय ६८ रुपैयाँ, तृतीय हुनेले नगद ६ हजार १ सय ६८ रुपैयाँ र सान्तवना हुनेले नगद ४ हजार १ सय ६८ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै अन्य खेलका विजेता र उपविजेताहरुले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । २०६५ सालमा धर्मगुरु आत्मानन्द लिङदेनको ५५ औं शुभजन्मोत्सवको अवसरमा २० हजार ५५ रुपैयाँ पुरस्कार राशीबाट सुरु गरिएको यस आत्मानन्द कपको नगद पुरस्कार राशी यसवर्ष ३ लाख १ सय ६८ रुपैयाँ पुगेको हो ।