मेस्सीले जिते कीर्तिमानी सातौँ बालोन डी ओर अवार्ड

जनता अभियान मंगलबार, मंसिर १४, २०७८

 अर्जेन्टिना एवं फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राईकर लियोनल मेस्सीले कीर्तिमानी सातौँ पटक बालोन डी ओर अवार्ड जितेका छन् । पेरिसमा सोमबार राति आयोजित भब्य समारोहबीच मेस्सीलाई अवार्ड प्रदान गरिएको हो ।
सन् २०२१ को यस अवार्ड जित्ने क्रममा मेस्सीले पोल्याण्ड एवं जर्मन क्लब बायर्न म्युनिखका स्ट्राईकर रोबर्ट लेवान्डोस्कीलाई पछि पारे । मेस्सीले ६१३ अंक प्राप्त गर्दा दोस्रो स्थानमा रहनुभएको लेवान्डोस्कीले ५८० र तेस्रो स्थानमा रहेका इटालीका जर्गिन्होले ४६० अंक प्राप्त गरेका थिए । लेवान्डोवस्कीलाई पहिलो पटक समावेश गरिएको सर्वोत्कृष्ट स्ट्राईकरको अवार्ड प्रदान गरियो ।
यसअघि शीर्ष तीनमा रहँदै आएको पोर्चुगल एवं इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्ट्राईकर क्रिस्टियानो रोनाल्डो छैटौँ स्थानमा रहे । रोनाल्डो सन् २०१० पछि पहिलो पटक शीर्ष तीनबाट बाहिरिएक हुन् । मेस्सी सर्वाधिक बालोन डी ओर अवार्ड जित्ने खेलाडी बन्दा रोनाल्डो दोस्रो स्थानमा छन् । रोनाल्डोले पाँच पटक यस अवार्ड जितेका छन् । मेस्सी राष्ट्रिय टोलीबाट कोपा अमेरिका कप र बार्सिलोनालाई गत सिजन कोपा डेल रे उपाधि जिताउँदै यस अवार्डको हकदार बनेका थिए ।
कीर्तिमानी सातौं पटक अवार्ड जित्नुभएका मेस्सीले आफ्नो कीर्तिमान भविश्यमा तोड्न अन्य खेलाडीलाई कठिन हुने बताउनुभएको छ । ‘यस कीर्तिमान सजिलै तोडिने खालको छैन । भविश्यमा कसैले तोडे मैले स्विकार गर्नुपर्दछ,’ ३४ बर्षीय मेस्सीले भन्नुभयो । मेस्सीले पेरिसमा फेरी एक पटक अवार्डका लागि उपस्थित हुन पाउनु आफ्ना लागि असाधारण खुशीको क्षण रहेको पनि बताउनुभयो । मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा बालोन डी ओर जित्नुभएको थियो । फ्रान्सबाट प्रकाशित हुने ‘फ्रान्स फुटबल’ ले हरेक बर्ष यस अवार्ड आयोजना गर्दै आएको छ । कोरोना महामारीका कारण गतबर्ष अवार्ड भएको थिएन ।

यहाँ कमेन्ट गर्नुहोस्