जनता अभियान शुक्रबार, मंसिर १७, २०७८
नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन नसक्ने नेताले ठाउँ खाली गर्नुपर्ने सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार बिहान विराटनगरमा प्रदेश १ को अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गुटका कारण पार्टी ध्वस्त हुन लागेको भनेर चिन्ता व्यक्त गरे । पार्टी तल्लो तहदेखि नै दुई चिरा भइसकेको कोइरालाको भनाइ छ ।
‘पार्टीभित्रको गुटको असर बच्चाबच्चामा पुगेको । मधेसी, दलित, महिला, अल्पसंख्यक सबै दुई चिरामा विभाजित छन्,’ उनले भने, ‘तल्लै तहदेखि गुटको दौड सुरु हुन्छ । गुट मात्रै चलाउने, पार्टीलाई दुई चिरा बनाउने र पार्टीलाई एकढिक्का बनाउन नचाहनेले अब ठाउँ खाली गरौँ ।’ पार्टीभित्रको आन्तरिक चुनावमा गुट बनाएर लड्दै गरेकाहरुले यो कुरालाई विचार गर्नुपर्ने उनको भनाइ छ । पार्टीलाई एकढिक्क बनाउनतिर लग्न उम्मेदवारहरुलाई उनले सुझाव पनि दिएका छन् ।
‘पार्टीलाई दुई चिरा हुनबाट बचाऔँ । आगोमा घिउ नथपौँ,’ कोइरालाले भने, ‘ठूलो डिङ हाँक्ने काम मात्रै नगरौँ । ठूला कुरा मात्रै गर्ने र पार्टीलाई एक हुन नदिनेले ठाउँ खाली गरौँ ।’ उनले निक्कै आक्रोसित मुद्रामा भाषण गरेका थिए । पार्टीको संस्थापनइतर समूहबाट कोइराला कांग्रेस प्रदेश १ सभापतिका उम्मेदवारको आकांक्षी थिए । तर उनलाई ‘ब्याक’ गराएर इतर समूहले गुरुराज घिमिरेलाई उम्मेदवार बनाउने तय गरेको छ । पार्टीको प्रदेश सभापतिको उम्मेदवार बन्न नपाएका उनले गुटका कारण कांग्रेस संकटमा परिरहेको बताए । एक नेताका अनुसार घिमिरेका लागि ठाउँ छाडिदिएका कोइरालालाई प्रदेश १ को मुख्यमन्त्री र पार्टीको केन्द्रीय सदस्य बनाउने आन्तरिक सहमति भएको छ ।