Janata Abhiyan शुक्रबार, साउन ०८, २०७८
सुनसरीमा पछिल्लो समय स्याउको व्यावसायिक खेती गर्छु भन्ने किसानको सङ्ख्या बढ्न थालेको छ । तराईमा स्याउ फल्छ कि फल्दैन भनेर नमुनाका लागि एक–दुई बोट रोपेका किसान नै बोटमा लटरम्म फल लागेपछि व्यावसायिक खेती गर्ने मनसायमा पुगेका हुन् ।
बेच्न डुलाउँदै ल्याएका नर्सरीसँग एक–दुई बोट बिरुवा किनेर लगाउँदा बोटभरि स्याउ लटरम्म फलेपछि सुनसरीका किसान व्यावसायिक खेती गर्न हौसिएका हुन् । उनीहरू स्याउको बिरुवाका लागि धमाधम नर्सरीसँग र व्यावसायिक खेती गर्न आवश्यक ज्ञान आर्जन गर्न विज्ञहरूसँग परामर्श लिन थालेका छन् ।सुनसरीको देवानगञ्ज गाउँपालिका–७ रासीका वासुदेव मेहताले सवा एक बिघामा स्याउको खेती गर्ने मनसाय बनाएका छन् । हाल मुख्य बाली धान, गहुँ मकै उत्पादन भइरहेको सवा एक बिघामा स्याउ खेती गर्ने योजनामा रहेका वासुदेव व्यावसायिक खेतीका लागि इटहरी उपमहानगरपालिका स्थित कृषि ज्ञान केन्द्र धाइरहेका छन् ।
विशेष गरी स्याउ हिमाली वा उच्च पहाडी क्षेत्रमा फल्छ । चिसो क्षेत्रमा फल्ने स्याउ अत्यधिक गर्मी हुने नेपाल–भारत सीमा क्षेत्रमा पर्ने देवानगञ्ज गाउँपालिकामा फलेपछि आश्चर्यचकित भएका वासुदेव दङ्ग छन् । उनले चार वर्षअघि नमुनाका लागि आफ्नै आँगनमा लगाएको एक बोट स्याउमा लटरम्म फल लागेका छन् । अघिल्लो वर्षदेखि नै फल लागेपछि उनी व्यावसायिक खेतीका लागि हौसिएका हुन् ।
यसै वर्षदेखि पाँच कठ्ठामा स्याउको बोट लगाउने मनसाय बनाएका वासुदेव भन्छन्, ‘पहिले पाँच कठ्ठामा लगाउँछु । राम्रै भएमा अबको चार वर्षभित्रमा सवा एक बिगाहामै स्याउ लगाउँछु । मलाई लाग्छ, मेहनत गरेमा पक्कै पनि तराईमा स्याउ फल्छ । केही फरक गर्नुपर्छ । तरकारी खेती गाउँभरि सबैले गर्दै आएका छन् । मुख्य बालीनाली परम्परादेखि नै लगाउँदै आएका हौँ । अब तालिम लिएर स्याउ खेती गर्छु । पैसा नहोला तर पहिचान बेग्लै बन्नेछ ।’
अहिले वासुदेवले लगाएको स्याउ बोट रित्तिइसकेको छ । तराईमै स्याउ फल्यो भनेर सञ्चारमाध्यममा समाचार पढेपछि टाढा–टाढाबाट आएका मानिसहरूले चाख्दा–चाख्दै स्याउ सकिएको वासुदेव बताउँछन् । ‘समाचार आएपछि धेरै जना आश्चर्य मान्दै आउनु भएको थियो’, उनले भने, ‘सबैलाई बाँड्दा–बाँड्दै सकियो । अब व्यावसायिक खेती गरेर बेच्ने मनसाय बनाएको छु ।’
बोटबाट टिपेर स्याउ काट्दै बर्जु गाउँपालिकाका–१ का मनोजकुमार चौधरी ।
यस्तै, सुनसरीकै बर्जु गाउँपालिकाका–१ का मनोजकुमार चौधरीले करिब दुई वर्षअघि नमुनाकै लागि भनेर एक बोट बिरुवा रोपे । काठमाडौँको हिमालयन नर्सरीबाट एक बोट बिरुवा रोपेका मनोजले रोपेको दोस्रो वर्षदेखि नै फल चाख्न पाए । विशेष गरी फलफूल खेतीमा विशेष रुचि राख्ने उनले लगाएको स्याउको बोटभरि लटरम्मै स्याउका फल लागेका छन् ।
हरिमोहन–९९ जातको स्याउ गत फागुनदेखि फल लाग्न थालेको थियो । किटनाशक औषधि प्रयोग गरेर फल जोगाउन सफल मनोजले अब दुई कठ्ठामा करिब १०० बोट लगाउने मनसाय बनाएका छन् । अहिले मुख्य बालीनाली लगाएको खेतमा स्याउ लगाएर व्यावसायिक खेती गर्ने उनको योजना छ ।
हिमालमा स्याउ तयार नहुँदै तराई र पहाडमा स्याउ उत्पादन गर्न सके बजारसमेत राम्रो हुने बताउँदै उनी स्याउ खेतीलाई आधुनिक तरिकाले बगैँचा प्रणालीलाई स्तरोन्नति गरी प्रयोगमा ल्याउन सकेमा यसले देशकै आर्थिक विकासलाई पनि टेवा पुर्याउन सक्ने बताउँछन् ।
तराईमा स्याउको व्यावसायिक खेती गर्दा जोखिम स् कृषि विज्ञ
तराईमा स्याउको व्यावसायिक खेती गर्दा जोखिम हुनसक्ने कृषि विज्ञको भनाइ छ । तराईका धेरै स्थानमा स्याउ फलेका कुरा सुने पनि पछि व्यावसायिक खेती गरेर सफलता पाएको विषयमा नसुनेकाले पनि यसबाट जोखिम हुनसक्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ का प्रवक्ता डाक्टर राजेन्द्र उप्रेतीको आकलन छ ।
हिमाली तथा उच्च पहाडी भेगमा फलेको स्याउजस्तो टेस्ट र कलर हुन नसकेको खण्डमा बजारीकरणमा जोखिम हुने उप्रेतीको भनाइ छ । स्याउ विशेष गरी पाँच डिग्री सेल्सियस तापक्रममा फल्ने बताउँदै उनले भने, ‘तराईमा पनि फल्न सक्छ तर फाइनल प्रडक्ट भनेअनुसार नआउन सक्छ । टेस्ट र कलरमा फरकपन हुनसक्छ । जस कारण बजारीकरणमा समस्या हुन्छ किनकि उपभोक्ताले स्याउ चिटिक्क परेको र स्वाद भएकै खोज्छन् । एक–दुई बोटसम्म ठिकै हो, व्यावसायिक गर्न खोज्दा जोखिम हुनसक्छ ।’