निश्चल राय मृत्यु प्रकरण ः न्याय माग्दै निमुवा प्रहरीको अगाडि विद्यार्थीको प्रदर्शन

जनता अभियान मंगलबार, मंसिर २१, २०७८

मोरङको बूढीगंगा गाउँपालिका–५ का निश्चल रायको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । १४ वर्षीय बालक राय गत कात्तिक २४ गते सिंघिया खोलामा शंकास्पद अवस्थामा फेला परेका थिए । एक महिनासम्म अनुसन्धान प्रतिवेदन सार्वजनिक नगरेपछि विद्यार्थीले प्रहरी चौकी निमुवा अगाडि प्रदर्शन गरेका हुन् ।

रायको शंकास्पद मृत्यु प्रकरणको छानविनका लागि प्रहरीले चासो नदेखाएको भन्दै स्थानीय र आफन्तले प्रदर्शन गरिरहेका छन् । आफन्तले निष्पक्ष छानविनको माग गर्दै गत बिहीबार अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका थिए । गत कात्तिक २२ गते दिउँसो घरनजिकैको लिची बगानमा खेल्न गएका १४ वर्षीय राय बेपत्ता भएका थिए । तीन दिनपछि सिंघिया खोला किनारमा शव भेटिएको थियो । हराएको तीन दिनपछि मृत भेटिएका बालकको शव पानीमा डुबेर मृत्यु भएजस्तो नदेखिने बुबा उपेन्द्रले बताए ।

उनका अनुसार घाँटी भाँचिएको, तिघ्रामा डोरीले बाँधेकोजस्तो डाम र छातीमा जुत्ताले हानेको जस्तो डाम र पेटमा सियोले रोपिएको जस्ता प्वाल देखिएको छ । उपेन्द्र माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर संगठनका नेता हुन् । राजनीतिक प्रतिसोध र पारिवारिक रिसिइबीको कारणले पनि आफ्नो छोराको हत्या भएको हुनसक्ने उनको आरो छ । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बालक मृत्यु प्रकरणको अनुसन्धान भइरहेको बताए । प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा सबै विषय स्पष्ट नभएको बताउँदै उनले भिसेरा रिपोर्ट आएपछि थप विषय खुल्ने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्