अपहरण आरोपमा इटहरीबाट तीन जना पक्राउ

Janata Abhiyan शनिबार, साउन ०९, २०७८

शनिबार, ९ साउन २०७८
अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय शिद्धार्थ राई रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाउँदै निर्घात कुटपिट गरेको आरोप छ ।

सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार अपहरणपछि इटहरी–८ फूलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको हो । ‘घटनास्थलमा प्रहरी टोली पुग्दा तीन जना मिलेर कुटपिट गरिरहेको पाइयो,’ उनले भने, ‘त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ ।’

तीन जनाले गत बिहीबार दिउँसो १ बजेतिर इटहरी–९ बाट श्रेष्ठलाई नियन्त्रणमा लिएर अपहरण गर्दै नम्बर थाहा नभएको सिटी सफारीमा राखेर लगेको प्रहरीको भनाइ छ । रातभर सङ्गीत थापाको कोठामा बन्धक बनाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपीको थापाको भनाइ छ ।

उनका अनुसार भोलिपल्ट अर्थात शुक्रबार बिहान थापाको कोठाबाट हिँडाउँदै केही पर लगेर कुटपिट गरेको पाइएको छ । ‘अपहरणपछि बन्धक बनाएर कुटपिट गरिरहेको अवस्थामा घटनामा संलग्न तीन जनालाई पक्राउ गरियो,’ थापाले भने, ‘प्रहरीले पीडितको उद्धार पनि गरेको छ ।’

प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ । पक्राउ परेका तीनै जनाविरुद्ध परेको अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरीका आधारमा शुक्रबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको एसपी थापाले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्