हरेराम शर्मा बिहिबार, पुष ०८, २०७८
गत ६ गते बुधबार अपराह्न ४ः२० बजे हामी तीन जना साथी रानीस्थित तालिम केन्द्रबाट विराटनगर घर फर्किँदै थियौँ । तालिम केन्द्र छेउमा साथीले खोलेको कपडा पसलबाट जाडोका लुगा किनेर सिटी सफारी चढेकामात्र के थियौँ, एक जना प्रहरीले सफारी रोक्न हात हल्लाए । चालकले रोक्दारोक्दै सफारी केही टाढा पुग्यो । सफारी रोकेपछि पछितिर फर्किएर हेर्यौँ, ती प्रहरी हामीनजिक आएर ठुलो स्वरमा सोधे, ‘घर कहाँ हो ?’ प्र्रहरीको चर्को स्वर सुनेर डरायौँ पनि ।
सानो स्वरमा सुनसरी भन्ने जबाफ मैले फर्काएँ । उनले सुनेनन्, सायद । पुनः बोले, ‘घर कहाँ हो ?’ मैले सुनसरी भनेपछि उनले भने, ‘कहाँ गएको थिइस् ?’ सीधै तँ भनेपछि रिस उठ्यो तर केही बोलेनौँ । त्यसपछि हामीलाई उनले थर्काउँदै भने, ‘खुरुक्क लागुऔषध झिक् !’ त्यसपछाडि हाम्रो जवाफ उनले पर्खेनन् । हामीलाई सफारीबाट उतारेर जथाभावि छाम्नथाले । कतिपटक उनले मेरो गोप्य अङ्गतिर पनि हात पुर्याए । असहज मानिरहेको मैले उनको बर्दीमा हेरेँ ।
टी. यादव लेखेको थियो । हाम्रो साथबाट केही पनि भेटेनन् । मैले नयाँ लुगा देखाउँदै उनलाई साथीको पसलमा कपडा किनेर फर्किएको भनेँ । फेरि हामी विद्यार्थी पनि हौँ भनेर परिचयपत्र पनि देखायौँ । तर उनले परिचयपत्रतिर नहेरी आफ्नै परिचय बिर्सिएर अपशब्द बोले । जबाफमा मैले भनेँ, ‘सर मुखचाहिँ नछोड्नुहोस् ।’ त्यसपछि उनले हामीलाई रोडमा निकैबेर उभ्याए । अर्का एकजना प्रहरी आएपछि हामीले उनलाई पनि परिचयपत्र देखाउँदै हामी विद्यार्थी हौँ भनेर चिनाउन खोज्यौँ । उनले हामीतिर ध्यान दिएनन् । बरु अर्को सफारी रोकाउनतिर लागे । निकैबेर रोडमा बसेपछि उनी त्यहाँबाट पुनः अपशब्द बोल्दै अर्को सफारी रोकाउनतिर ध्यान दिए ।
यो दुई दिनअघि हामीमाथि भएको प्रहरीको दुर्व्यवहार हो । प्रहरी हाम्रो साथी नामक नारा बोकेर हिँडेको प्रहरीले हामीमाथि गरेको सो दुर्व्यवहारका कारण अहिलेसम्म नरमाइलो लागेको छ । हामी तीन युवामाथि शंकास्पद रुपमा केरकार गर्नु ठीकै होला तर उनको बोली, उनले हाम्रो गोप्य अङ्गमा छामछुम गरेर बनाएको असहजताले अझै तर्साइरहेको छ । हामी युवा थियौँ, र पनि शारीरिक रुपमा उनको छुवाइले असहजता सिर्जना गरेको छ । उनको रुखो बोलीले मन दुखाएको छ ।
तर जोगबनी भएर महिला व्यापारीले सामान ल्याउँदै गर्दा पनि उनीहरुमाथि यस्तै दुर्व्यवहार भएमा उनीहरुलाई कति असर पर्ला ? त्यो बारेमा प्रहरी प्रशासन सचेत हुनैपर्छ । हुन त नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले गत कात्तिक ५ गते प्रहरी सङ्गठनभित्र सम्मानार्थी भाषा प्रयोग गर्न निर्देशन दिनुभएको थियो तर प्रहरी सङ्गठनभित्र मात्र होइन प्रहरीले आम नागरिकका लागि प्रयोग गर्ने बोली पनि सम्मानपूर्ण हुँदैन ।
यहाँ कमेन्ट गर्नुहोस्