मोरिसससँगको मैत्रीपूर्ण खेलका लागि ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाइयो

जनता अभियान सोमबार, पुष १९, २०७८

अफ्रिकी राष्ट्र मोरिससविरुद्ध खेल्न ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

नेपालले आगामी जनवरी २९ र फेब्रुअरी १ मा मोरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । ​​​​​​​नेपाल र मौरिससबीचको दुवै खेललाई विश्व फुटबल महासङ्घ ९फिफा० ले अन्तर्राष्ट्रिय म्याच क्यालेन्डरमा समावेश गर्नेसमेत एन्फाले जनाएको छ ।
मोरिसस फिफा वरीयतामा नेपालभन्दा तीन स्थान तल छ । नेपाल एक सय ६९औँ स्थानमा रहँदा मोरिसस एक सय ७२औँ स्थानमा छ । मोरिसस नेपालका लागि आधिकारिक पहिलो अफ्रिकन प्रतिद्वन्द्वी हो । नेपालले आफ्नो फुटबल इतिहासमा पहिलो पटक औपचारिक मान्यताप्राप्त आधिकारिक खेलमा कुनै अफ्रिकी देशको सामना गर्न लागेको हो । यसअघि नेपालले अफ्रिकी राष्ट्रसँग फुटबल खेलेको थिएन ।

यसअघि नेपालले दुई पटक अफ्रिदी देशसँग खेलेको भएपनि ती दुवै खेल औपचारिक मान्यताप्राप्त भने थिएनन् । सन् १९८३ मा नेपालले मलेसियामा भएको मर्डेका कप खेलेको थियो, जसमा उसले अल्जेरिया ११ सँग खेलेको थियो । सो खेलमा नेपाल २–० गोलले पराजित भएको थियो ।

यस्तै, सन् २००८ को मर्डेका कपमै नेपालले सिरालियोन यु–२० सँग खेलेको थियो । जसमा नेपाल ३–१ ले पराजित भएको थियो । मोरिससले एक पटक अफ्रिका कप अफ नेसन्समा सहभागिता जनाइसकेको छ । सन् १९७४ मा उक्त प्रतियोगिता खेलेको मारिससका लागि यो नै ठुलो उपलब्धि हो ।

नेपाली टिमले पछिल्लो पटक भारतविरुद्ध मैत्रीपूर्ण खेल खेलेयता अन्य खेल खेल्न पाएको छैन । गत सेप्टेम्बर २ मा नेपालले भारतसँग बराबरी खेलेको थियो । ५ सेप्टेम्बरमा भएको भारतविरुद्धको दोस्रो खेलमा हार बेहोरेको थियो । त्यसअघि नेपाली टिमले साफ च्याम्पियनसिपको फाइनल खेल खेलेको थियो । अक्टोबर १६ मा भारतसँगको उक्त खेलमा नेपाल ३–० गोलले पराजित भएको थियो । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

नेपाली खेलाडीहरू

विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुघन चौधरी, टिकेन्द्र थापा, आशिष लामा, आयुश घलान, आकाश बुढामगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, क्षितिज रन्त चुन्जु, अनिश डाँगी, नवीन गुरुङ, नीतिश थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गरुङ, सुदीप गरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यू ठकुरी, सुशील राई र तेज तामाङ

यहाँ कमेन्ट गर्नुहोस्