सिंहदरबारभित्रै मेडिकल कलेज संचालक शर्मालाई कालोमोसो

जनता अभियान शुक्रबार, पुष ३०, २०७८

काठमाडौँ — काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेज विराटनगरका संचालक सुनिल शर्मालाई विद्यार्थीको एक समूहले शुक्रबार सिंहदरबारभित्रै कालोमोसो लगाएर दुर्व्यवहार गरेको छ ।

विद्यार्थीसँग अतिरिक्त शुल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका विद्यार्थीले ‘नमस्कार सर’ भन्दै कालोमसो दलेको एक प्रत्यक्षदर्शीले बताए । समाजवादी विद्यार्थी युनियनका अध्यक्ष सुदेश पराजुलीले घटनाको जिम्मा लिएका छन् भने अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्जा सिंहले पनि संयुक्त विद्यार्थी संघर्ष समितिले कालोमोसो दलेको बताएकी छन् । उनको मेडिकल कलेजले चिकित्सा शिक्षाका विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा नेविसंघसहित ७ विद्यार्थी संगठन पीडित विद्यार्थीसँगै आन्दोलनमा छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रबार चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालयसहित शर्मालाई छलफलमा डाकेका थिए । छलफलले अतिरिक्त शुल्क लिन नपाइने, होस्टल पनि अनिवार्य गर्न नपाइने लगायतका निर्णय गरेको छ । तर शर्माले उक्त निर्णय नमान्ने भन्दै निर्णयमा फरक मत लेखाएका थिए । लगत्तै फर्कदैं गर्दा उनीमाथि कालोमोसो दलिएको हो । विद्यार्थी र शर्मासँग आएका युवाहरुबीच सामान्य झपडसमेत भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्