जनता अभियान बिहिबार, माघ ०६, २०७८
कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा अब अक्सिजनको अभाव नहुने भएको छ ।
सङ्क्रमितको उपचारमा अक्सिजनको अभाव नहुने भएको हो । कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको चरम सङ्कट झेल्नु परेको थियो । यसअघि सामना गर्नु परेको अक्सिजनको अभावलाई ध्यानमा राख्दै प्रदेश १ सरकारले त्यस्तो समस्या नआउने गरी प्रबन्ध मिलाएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मन्त्रालयमा अक्सिजन आपूर्तिकर्ताहरुसँग छलफल गरेका छन् । छलफलका क्रममा आपूर्तिकर्ताहरुले अक्सिजनको अभाव हुन नदिने बताएका छन् । आपूर्तिकर्ता उद्योगका प्रतिनिधिहरुले मन्त्री यादव समक्ष कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।
मन्त्री यादवले मारुती, भाजुरत्न र विनायक अक्सिजन इण्डस्ट्रिजका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । उनले कोभिड अस्पतालमा अक्सिजनको आपूर्तिका लागि पहिले पुर्याएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सोही अनुसारको सेवा दिन आपूर्तिकर्ताहरुलाई आग्रह गरे ।
मन्त्री यादवसँगको छलफलमा भाजुरत्नका केदार श्रेष्ठ, मारुतीका विवेक अग्रवाल र विनायकका मनोज ढकाल सहभागी थिए । आपूर्तिकर्ताहरुले अक्सिजनका खाली शिलिण्डर समयमै उपलब्ध गराइदिनु पर्ने बताएका थिए ।
प्रदेश सरकारले कोसी कोभिड अस्पतालमा ७६ वेड बिस्तार गरेको छ । यसअघि ९६ बेडको अस्पताल सञ्चालनमा थियो । अहिले अस्पतालमा १४ जना सङ्क्रमितको उपचार भइरहेको छ ।