कटहरीमा जीवन विकासको ३ सय शैयाको अस्पताल बन्ने

जनता अभियान शुक्रबार, माघ १४, २०७८

विराटनगर । जीवन विकास समाजले मोरङको कटहरीमा ३०० शैयाको बहु–बिशिष्टिकृत सुविधासम्म अस्पताल सञ्चालन गर्ने भएको छ । गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई लक्षित गर्दै समाजले कटहरी–२ हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन सञ्चालनमा ल्याउनेभएको हो । बिहीबार जीवन विकास समाजका संस्थापक अध्यक्ष योगेन्द्र प्रसाद मण्डलले अस्पताल निर्माणको शिलान्यास गरेका छन् । १७ बिगाहा क्षेत्रफल निर्माण हुन गईरहेको अस्पताल सरकारी र निजी अस्पतालको तुलनामा सुविधासम्पन्न हुने अस्पतालका संयोजक दामोदर रेग्मीले जानकारी दिए । उनले आफ्नै विशुद्ध सेवा प्रवाह गर्ने उद्देश्यका साथ संस्थाको आफ्नै जग्गामा अस्पताल निर्माणकोे कार्य थालिएको जानकारी दिए । अस्पताल निमार्णको ठेक्का विराटनगरको आशिष÷आशिर्वाद÷स्वामीनारायण जेभीले पाएको छ । अढाई अर्बमा ठेक्का सम्झौता भएको उक्त अस्पताल ब्लक अनुसार विभिन्न ३ चरणमा निर्माण हुने जनाईएको छ । २०८० साल मंसिर मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको अस्पतालको पहिलो ब्लक कुल ६५ करोडमा निर्माण हुने जीवन विकास समाजले जनाएको छ । समाजका अनुसार अस्पतालले प्रदेश नं. १ र मधेश प्रदेशका नागरिकलाई लक्षित गर्दै आफ्नो सेवा प्रवाह गर्नेछ ।

यहाँ कमेन्ट गर्नुहोस्