जबरजस्ती करणी गरेको आरोपमा प्रहरीका असई पक्राउ

Janata Abhiyan बुधबार, साउन १३, २०७८

एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा नेपाल प्रहरीका एक असई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ट्राफिक प्रहरी पोस्ट भान्टाबारी सुनसरीमा कार्यरत जितेन्द्रनारायण मण्डल रहेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीका अनुसार मण्डलविरुद्ध शनिबार जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएपछि अनुसन्धानको लागि आइतबार उनलाई नियन्त्रणमा लिएको डिएसपी केसीले जानकारी दिए ।

‘शनिबार जाहेरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका थियौँ’, उनले भने, ‘अनुसन्धानपछि उहाँलाई म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाएका छौँ ।’

धरान घर भएकी २३ वर्षीया महिलाले असई मण्डलविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । मण्डलले अन्तिम पटक २०७७ चैत २८ गते इटहरी उपमहानगरपालिका–६ स्थित अरुण होटल एन्ड लजमा लगेर करणी गरेको आरोप ती महिलाको छ ।

विवाहको गर्ने प्रतिबद्धताका साथ चार वर्ष अगाडिदेखि नै मण्डल र ती महिला सँगै बसेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनी सरुवा भएसँगै भोजपुर, झापा, इटहरी, लौकहीमा डेरा गरी ती महिलालाई राखेका थिए । त्यसबीचमा मण्डलकै दबाबमा दुई पटक गर्भपतनसमेत गराएको महिलाले जनाएकी छन् ।

गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएको र परीक्षण गरेका कागजातसमेत आफूसँग रहेको महिलाको दाबी छ ।

यहाँ कमेन्ट गर्नुहोस्