निर्वाचन आयोगद्धारा दल दर्ता आह्वान

जनता अभियान बुधबार, फाल्गुण ०४, २०७८

 निर्वाचन आयोगले स्थानीय तह प्रयोजनका लागि भोलिदेखि दल दर्ता आह्वान गरेको छ।

०७९ वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ।आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन्।दर्ता भएका दलहरुले फेरि निर्वाचनको लागि दर्ता गर्न आयोगले आह्वान गरेको हो ।

दल दर्ताको लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल र वेबसाइटको विवरण खुलाउनु पर्ने हुन्छ।त्यस्तै दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्यासमेत निवेदनमा खुलाउनु पर्ने हुन्छ ।

आयोगमा दलले आर्थिक वर्ष ०७७ / ०७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदन अनिवार्य पेस गर्नु पर्ने हुन्छ । आर्थिक वष ०७६ / ७७ मा एकीकरण भई वा गाभिएर नयाँ कायम भएका दलले आव ०७६ / ७७ को लेखा परीक्षण प्रतिवेदन पेस गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरणसमेत देखिने गरी तयार गरिएको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ।

यसका साथै दलको केन्द्रीय स्तर, प्रदेशस्तर र जिल्लास्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि आयोगलाई जानकारी गराउनुपर्ने हुन्छ।यसभन्दा अघिको स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिह्नको सट्टा अर्को निर्वाचन चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेको तीन वटा निर्वाचन चिह्न प्राथमिकता क्रमअनुसार उल्लेख गर्नु पर्ने हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्