जनता अभियान बिहिबार, फाल्गुण १२, २०७८
सुनसरीको देवानगन्ज गाउँपालिका–३ का वडाध्यक्ष अनिलप्रसाद भगतले अति विपन्न कृषकलाई कृषि सामग्री वितरण गरेका छन् । कृषकलाई खेतीपाती गर्न सहज होस् भन्ने उद्देश्यका साथ कृषि सामग्री वितरण गरिएको उनले बताए ।
‘कृषि सामग्रीको अभावमा धेरै समस्या भइरहेको थियो,’ कृषक वीरेन्द्र यादव भन्छन्, ‘कीटनाशक औषधि छर्ने विद्युतीय स्प्रे पाएपछि हर्षित भएको छु, हाते मेसिनको सहायताले कीटनाशक औषधि छर्ने गर्थें, अब भने सहज हुनेछ ।’
यसैगरी उक्त वडाका अर्का कृषक बाबुनन्द यादव पनि कृषि सामग्री पाएपछि हर्षित छन् । उनले भने, ‘विद्युतीय स्प्रे पाएपछि औषधि छर्न सहज भएको छ, अब वडाले समयमा नै मलखाद उपलब्ध हुने व्यवस्था मिलाए हामीलाई धेरै सहज हुनेथियो ।’
वडाध्यक्ष भगतले केही पहिला दुई सय ७० थान विद्युतीय स्प्रे वितरण गरेको बताए । अहिले एक सय ८० थान स्प्रे वितरण गरेको बताए । अब अति विपन्न परिवारलाई ग्यास चुलो वितरण गर्ने योजना रहेको उनले बताए ।