मिथिलाको मध्यमा परिक्रमा आजदेखि सुरु

जनता अभियान बिहिबार, फाल्गुण १९, २०७८

मिथिलाको महाकुम्भ मानिएको १५ दिवसीय मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ ।

धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमा (यात्रा)का लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो ।

मिथिला बिहारीको डोला अग्निकुण्डमा दिउँसो विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि मिथिला बिहारी र किशोरीजीको डोला शुक्रबार भारतको कल्याणेश्वरको लागि प्रस्थान गर्ने छ ।

अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा फागुन प्रतिपदामा सुरु भई पूर्णिमाका दिन सम्पन्न हुन्छ । मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ ।

मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि महात्म्यमा उल्लेख छ ।

नेपालका कुनाकाप्चा तथा भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सहभागी हुने गर्दछन् । ‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालुहरू श्री मिथिलाबिहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जोकोहीलाई मोहित पार्छ ।

सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारै दिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो ।

हिन्दू धर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको छ । परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ । प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ । यसलाई षोडशोपचार पूजाको अंग मानिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्