जनता अभियान बिहिबार, चैत्र ०३, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल एमालेसँग सहकार्य र तालमेल हुने सम्भावना आफूले नदेखेको बताएका छन्।
आज (बिहीबार) रुपन्देहीमा प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले अहिले तत्काल एमालेसँगको सहकार्य र तालमेलको सम्भावना आफूले नदेखेता पनि तालमेलको विषय नेपाली काँग्रेसको व्यवहारमाथि पनि भर पर्ने बताए।
स्थानीय चुनावमा एमालेसँग तालमेलबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै दाहालले काँग्रेसको मूल नेतृत्व हालकै गठबन्धन जोगाउने पक्षमा रहे पनि केही नेताहरू अतिवादी ढङ्गले प्रस्तुत भइरहेकाले राजनीति सम्भावनाको खेल पनि हुने भएकाले त्यो सम्भावना पनि बाँकी रहेको बताए।
उनले भने, ‘अहिले हामी ५ दलको गठबन्धनमा छौँ । सरकार पनि त्यसरी नै चलिरहेको छ।त्यसकारण तत्काल एमालेसँग तालमेल या गठबन्धन गर्ने सम्भावना हामीले देखेको छैनौ, हुन त देशका अगाडि गम्भीर समस्या आएपछि हामी माओवादी सङ्कटको निकास दिन जतिसुकै तितो मिठो भए पनि सहज ढङ्गले छलफल गर्ने र समझदारी बनाएर निकास निकाल्ने कोशिस गरेका छौँ ।’