होली आज तराईमा मनाइँदै

जनता अभियान शुक्रबार, चैत्र ०४, २०७८

रङ्गहरूको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ ।

पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने प्रचलन छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रङ्ग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिएको छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कङ्शद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन्। निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले बताउनु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्