Janata Abhiyan बुधबार, साउन २०, २०७८
हामीले डुंगा चढेको वा कसैलाई खोला वा कोशी कटाइदिएको पैसा लिएको सुनेका छौँ होला । तर पुल तर्नका लागि १० रुपैयाँ तिर्नुपर्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । हो, यस्तै भएको छ, सुनसरीको हरिनगरा गाउँपालिकामा
हरिनगरा–२ मा पर्ने मारिया खोलामा विगत पाँच वर्षयता पुल नबन्दा सर्वसाधारण हैरान बनेका छन् । २०७४ सालको भीषण बाढीका कारण सुनसरी खोला दुईधार भएको थियो । भोक्राहा नरसिंह गाउँपालिका र हरिनगरा वडा नं १ को सीमाक्षेत्रबाट छुटिएर दक्षिणपूर्वतर्फ लागेको खोलातिरबाट हुलाकी राजमार्गको नक्सामा परेको थियो । त्यसपछि टेन्डरमा गएको पुल हालसम्म बनिसकेको छैन ।
पक्की पुल नबन्दा स्थानीय युवाहरूको सक्रियतामा बनेको बाँसको भाटाको पुलमा ओहोर–दोहोर गर्न पैसा तिर्नुपरेपछि सर्वसाधारण हैरान बनेका हुन् । विगत पाँच वर्षयता नै भाटाको पुलबाट ओहोर–दोहोर गर्न बाध्य स्थानीयले सङ्घीयताको अनुभव चाख्न पाएका छन् । पुल नबनेपछि भाटाको पुलबाट कस्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका यात्रुले ओहोर–दोहोर गर्दा १० रुपैयाँ तिर्नुपर्दा दुःख लाग्ने स्थानीय युवा मौसिफ आलम अन्सारी बताउँछन् ।
स्थानीय जसिम अन्सारीको नेतृत्वमा रहेका हरिनगरका सात युवाको सक्रियतामा मारिया खोलामा बाँसको पुल बनाएको छ । दुई लाख लगानीमा बनेको सो पुल तीन–तीन दिनमा मर्मत गर्नुपर्ने भएका कारण मोटरसाइकल यात्रुलाई १० रुपैयाँ र ंसाइकल यात्रु पाँच रुपैयाँ लिनुपरेको भाटाको पुलका लगानीकर्ता अन्सारी बताउँछन् ।
स्थानीयले पटक–पटक खोला वारपार गर्नुपर्ने भएका कारण उनीहरूलाई छुट दिइ बाहिरका यात्रुलाई मात्र पैसा लिने गरिएको छ । विशेषगरी मङ्गलबार र शनिबार भने हटियाका कारण धेरै रकम सङ्कलन हुने उनको भनाइ छ । कहिलेकाहीँ युवाहरूले स्थानीयबाट पनि रकम असुली गर्ने र बाहिरका यात्रुलाई पनि कहिलेकाहीँ धेरै रकम लिनेगरेको स्थानीय एक युवाको गुनासो छ । यता, पुलका लगानीकर्ता अन्सारी भने सङ्कलित रकमबाट पुल मर्मत हुने गरेको बताउँदै स्थानीयबाट रकम असुली नगर्ने बताउँछन् ।
अन्सारीले जोमिख हुनेकारण केही युवाहरू पुलमा बिहानदेखि राति अबेरसम्म बस्ने बताए । अघिल्लो पटक पुल बनाउनका लागि गाउँपालिकाले एक लाख ९० हजार रुपैयाँ दिएपनि बाढीका कारण उक्त पुल बगेपछि आफ्नै दुई लाख लगानीमा नयाँ पुल बनाएको उनको भनाइ छ । हिउँदको समयमा पुलमुनिबाट खोला वारपार गर्न सकिएपनि वर्षायाममा भने यात्रुले सास्ती भोग्नु परेको छ ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले पटक–पटक पुल बनाउन सडक डिभिजन कार्यालय, विराटनगरसँग समन्वय गर्दा पनि पुल नबनाएको गुनासो गर्छन् । अब, यसै असोज महिनामा निर्माणको काम सम्पन्न गर्ने आश्वासन आएको बताए ।
अध्यक्ष अन्सारीले गाउँपालिकाबाट नभई आफ्नै खल्तीबाट नै दिएको रकमले भाटाको पुल बनेको बताए । सो पुलबाट सर्वसाधारणले आवतजावतमा सहजता महसुस गरेको भएपनि पूर्ण रूपमा सन्तुष्टि नपाएको उनको गुनासो छ ।
यता, ठेकेदार कम्पनी बन्धु कार्की कन्ट्रक्सन प्रालिले भने कोरोना महामारीका कारण पुल समयमै नबनेको बाहना बनाएको छ । कोरोना महामारीका कारण भारतबाट ल्याउनुपर्ने निर्माण सामग्री ल्याउन नपाउँदा पुलको काम अगाडि नबढेको कम्पनीको जिकिर छ । पुलमा स्प्रिङ चाहिने भएपनि कोरोनाका कारण भारतबाट ल्याउन नपाउँदा पुल ढलाइको काम नभएको र आगामी असोज महिनाबाट काम थालेर चाँडै नै सक्ने कम्पनीले जनाएको छ ।