दमक गोल्डकप आजदेखि, उद्घाटन खेलमा दमक–११ र बागमती युवा क्लव सर्लाही भिड्दै

जनता अभियान बुधबार, चैत्र ०९, २०७८

दमक नगर खेलकुद विकास समितिको आयोजनामा हुन लागेको दमक गोल्डकप फुटबल आजदेखि सुरु हुँदैछ ।

गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । उद्घाटन खेल आयोजक दमक–११ र बागमती युवा क्लब सर्लाहीबीच हुनेछ।

प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी फुटबल क्लब, आयोजक दमक–११, बागमती युथ क्लब, गोर्खा ब्वाइज पुलिस क्लब भारत, मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ, दुर्गापुर सन्डे क्लब कोलकाता, एमिनियर फुटबल क्लब क्यामरुनको सहभागिता रहने खेल संयोजक मोहन मगरले बताउनुभएको छ ।

दमक नगरपालिका–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगितामा ४ विदेशीसहित १० टिमको सहभागिता रहनेछ। प्रतियोगिताका लागि मैदान सम्याउने, प्याराफिट निर्माणलगायत काम सकिएको छ ।

करिब ७ हजार दर्शक क्षमताको प्याराफिट निर्माण गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन प्रदेश सांसद अर्जुन राईले र समापन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ ।

प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार र उपविजेताले नगद ६ लाख ११ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल दिइने अध्यक्ष चौलागाईंले जानकारी दिए।

यहाँ कमेन्ट गर्नुहोस्