Janata Abhiyan बुधबार, साउन २०, २०७८
सुनसरीको दुहबी नगरपालिका घर भएका बाँस व्यापारी देवकृष्ण मण्डल र उनका २८ वर्षीय भाइ दशरथ मण्डल बाँसको ब्यापार गर्छन् । देवानगञ्जबाट बाँस किनेर विराटनगर र दुहबीका बजारमा बेच्नेगरेका उनीहरूले मनग्ये आम्दानी गर्छन् ।
परिवारमा बूढा–पाका र बालबच्चा मात्र भएका कारण दुवै जना बाँस व्यापार र खेती–किसानी दुवै काममा खटिन्छन् । दुवै काममा उनीहरूको सहयात्री बनेका छन्, एक हल राँगा । ती राँगा देवकृष्णले चार वर्षअगाडि डेढ लाख रुपैयाँ हालेर किनेका हुन् । स्याहार गरेर नै उनले राँगालाई बलिया बनाएका छन् । अहिले बेच्नुपरे करिब तीन लाखसम्ममा बिक्री हुने देवकृष्ण बताउँछन् ।
एक जोडी राँगाले देवकृष्ण र दशरथलाई खेतमा तथा सडकका काममा सघाउँछन् । खेतमा हलो जोत्न परेमा वा सयौँ घना बाँस लोड गरेको गोरु गाढा तान्न परेमा । खेती गर्ने समय दुवैलाई नारेर देवकृष्ण जोत्छन्, बाली ओसार्न पनि ती राँगाकै सहयोग लिन्छन् अनि दाउनी गर्नुपरेमा तिनै राँगा काममा आउँछन् ।
खेतबाट फुर्सद मिलेपछि दुई दिनको समय खर्चिएर गोरु गाढा चढेर देवकृष्ण र दशरथ बाँस खरिद गर्न गाउँतिर निस्कन्छन् । उनीहरू नेपाल–भारत सीमानजिक पर्ने देवानगञ्ज गाउँपालिकातिरबाट बाँस प्रति घना एक सयदेखि एक सय ५० रुपैयाँसम्ममा खरिद गर्छन् । काट्छन्, झिक्रा केलाउँछन् र गोरु गाढामा लोड गर्छन् । र, त्यहाँबाट उनीहरू पुनः विराटनगर हुँदै दुहबी फर्किन्छन् ।
देवानगञ्जबाट दुहबी करिब ३६ किलोमिटर पर्छ । त्यो यात्रा उनीहरूका लागि एक दिनको नै हुन्छ । राँगाले बिसाउनुपर्ने भएका कारण रोक्दै, राँगालाई खुवाउँदै र आराम गर्दै उनीहरू दुहबी पुग्छन् । कहिलेकाहीँ दुहबी नपुग्दै बाँस बिक्री भइसक्छ । कहिलेकाहीँ एउटा पनि नबिकी दुहबी पुगिन्छ । केही बाँस घरमा थन्क्याइएको देवकृष्ण बताउँछन् ।
‘प्रायः एक सय वटा बाँस लोड हुन्छ, कहिलेकाहीँ एकै जनाले ठुलो मात्रामा किनिदिँदा घरसम्म बाँस पु¥याउन सकिँदैन । कहिलेकाहीँ बिक्री नभएर घरै पुग्छन् । घरबाटै पनि धेरै बिक्री हुन्छ ।’ प्रति घना दुई सय ५० रुपैयाँसम्ममा बिक्री गर्दा एक गाडी बाँसबाट कम्तीमा पनि २० हजार फाइदा हुने उनले सुनाए । बाँसबाट १५ हजार र भिक्राबाट पाँच हजार जति आम्दानी हुँदा २० हजार चोखो आम्दानी हुने उनको भनाइ छ ।
देवानगञ्जकै बाँस व्यापारी देवनारायण मेहता र बब्लु मेहता देवानगञ्जका विभिन्न स्थानबाट बाँस किनेर विराटनगर पु¥याउँछन् । देवनारायण र बब्लु बाबु–छोरा हुन् । ६ वर्ष अघिदेखि बाँस व्यापार गर्दै आएका उनीहरू प्रायः गोरु गाढामै दुई सय घना बाँस लिएर विराटनगर पु¥याउँछन् । प्रति घना एक सय ६० रुपैयाँमा किनेको बाँस उनीहरूले दुई सय ४५ सम्ममा होलसेल तथा खुद्रा मूल्यमा विराटनगरमा बेच्छन् । एक गाडीबाट कम्तीमा १४ हजार फाइदा हुने उनको भनाइ छ ।
बाँस खेती गर्ने किसान पनि फाइदामा
लामो समयदेखि बाँस बिक्री गर्दै आएका किसान देवानगञ्ज गाउँपालिका–२ का ५४ वर्षीय धनराज मेहता पनि बाँस व्यापारबाट फाइदा रहेको बताउँछन् । उनका फरक–फरक स्थानमा गरेर आठ झ्याङ बाँस छन्, जसबाट धनराजले राम्रो कमाइ गर्छन् । धनराजले विगत २५ वर्षयता बाँस बेच्दै आइरहेका छन् ।
एक पटक बेच्दा करिब एक लाख ४४ हजार आम्दानी हुने बताउँदै धनराज भन्छन् । बाँस पृथ्वीमा रहेका सम्पूर्ण वनस्पतिहरूमध्ये सबैभन्दा तीव्र गतिले बढ्न सक्ने एक काष्ठीय बिरुवा हो । यसका केही प्रजातिहरू २४ घण्टामा ९१० मिलिमिटर ९३६ इन्च०सम्म बढ्ने गर्दछ । छिटै बढ्ने मात्र नभएर बाँस छिटो पनि फैलिन्छ । बाँस तीन वर्षमा एक पटक बिक्री गर्न लायक हुन्छ ।