जनता अभियान शनिबार, चैत्र १९, २०७८
विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक विजय यादव मृत भेटिएका छन् ।
सप्तरीकाे विष्णुपुर गाउँपालिका-१ घर भइ हा विराटनगरमा बस्दै आएका २८ वर्षीय यादव आज (शनिबार) बिहान नाेबेल अस्पतालअगाडि मृत भेटिएका हुन् ।
डाक्टर यादव नोबेल अस्पतालको हाडजोर्नी तथा नशा रोग विभागमा मेडिकल अफिसरका रूपमा कार्यरत थिए । चार वर्षयता विराटनगर–४ स्थित प्रेम बस्नेतको घरको दोस्रो तलमा कोठा भाडामा लिएर डेरा बस्दै आएका यादवको शव नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै फेला परेको हो ।
नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार आफू बस्ने कोठाबाट मुनिको भुइँमा घोप्टो परिरहेको अवस्थामा यादवको शव भेटिएको हो । बिहान ७ बजेतिर स्थानीयले शव भेटेपछि प्रहरी र अस्पताललाई घटनाको जानकारी गराएका उनको भनाइ छ ।
चिकित्सक मृत फेला परेको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको छ । शव भने अहिलेसम्म घटनास्थलमै छ । घटनास्थलमा भेला भएका आफन्तबीचमा रुवाबासी चलिरहेको छ । उनीहरुले घटना शङ्कास्पद रहेको भन्दै गम्भीर ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाउन माग गरेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार डेरा बसेको घरको कम्पाउण्डभित्र चिकित्सक मृत फेला परेको जानकारी आउनसाथ अनुसन्धानका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । घटनास्थलमा रहेको शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको उनले बताए । चिकित्सकको मृत्युको कारण खुल्न बाँकी रहेको र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी श्रेष्ठले दिएका छन् ।
अस्पतालका प्रबन्धक दाहालका अनुसार डा. यादव ४ वर्षअघिदेखि नोबेलमा कार्यरत थिए । नोबेलले शुक्रबार मोरङको कटहरीमा आयोजना गरेको स्वास्थ्य शिविर सञ्चालनका लागि उनी पनि पुगेको दाहालले बताए । उनका अनुसार शिविरबाट फर्किएर आफ्नो डेरातर्फ लागेका चिकित्सकलाई मृत अवस्थामा फेला पारिएको जानकारी आएको हो ।
एमबिबिएस डाक्टर यादव नाेबेल अस्पताल तीन वर्षदेखि काम गर्दै आएका थिए । उनी अर्थाेपेडिक बार्डमा कार्यरत थिए । उनले एमबिबिएस बङ्गलादेशबाट गरेकाे परिवारले जनाएकाे छ ।
मृतकका आफन्तहरूले डाक्टरकाे हत्या भएकाे भान्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै नाराबाजी सुरु गरेका छन् ।