बलात्कार प्रयासको आरोप लागेका प्रहरी जवान विराटनगरमा झुन्डिएको अवस्थामा भेटिए

जनता अभियान आइतबार, चैत्र २०, २०७८

बलात्कार प्रयासको आरोप लागेपछि निलम्बनमा परेका नेपाल प्रहरीका एक जवान विराटनगरमा झुन्डिएको अवस्थामा भेटिएका छन् । एक महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेका विराटनगर महानगरपालिका–५ घर भएका प्रहरी जवान २६ वर्षीय जितविक्रम दाहाल आइतबार बिहान मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार घरअगाडि रहेको भोगटेको रुखमा गाम्छाको पासो लगाएर झुन्डिएको अवस्थामा दाहाललाई मृत फेला पारिएको हो । आज बिहान रुखमा झुन्डिएको अवस्थामा उनलाई फेला पारेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
दाहाल सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत थिए । महिलामाथि बलात्कारको प्रयास गरेको आरोपमा उनीविरुद्ध सुनसरी प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । अदालतबाट धरौटीमा छुटेपछि उनी विराटनगरस्थित घरमा बस्दै आएका थिए ।

पछिल्लो समय उनले डिप्रेसनको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले बताएको छ । गत पुसदेखि निलम्बनमा परेका उनी मुद्दा विचाराधीन रहेकै अवस्थामा मृत भेटिएका हुन् । शवको कोसी अस्पतालमा पोस्टमार्टम गरिएको छ । घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको जानकारी डिएसपी श्रेष्ठले दिए ।

यहाँ कमेन्ट गर्नुहोस्