बिनोद मेहता सोमबार, बैशाख ०५, २०७९
सुनसरीको देवानगन्ज गाउँपालिका–६ राशीमा रहेको बिपी आधारभूत विद्यालयमा कक्षा प्रभावित हुनेगरी राजनीतिक कार्यक्रम गर्ने गरिएको पाइएको छ । विद्यालयमा राजनीतिक कार्यक्रम गर्न प्रतिबन्ध गरिए पनि दलहरूले आसन्न स्थानीय तहको निर्वाचन लक्षित गरी विद्यालयमै कार्यक्रम गर्न थालेका हुन् ।
नेपाली काङ्ग्रेसले कक्षा नै प्रभावित हुनेगरी राजनीतिक बैठक आयोजना गरेको स्थानीयहरूको गुनासो छ । नेकपा माओवादी केन्द्र निकट वाइसिएल सुनसरी जिल्ला सचिव अमरेश मेहताले वडा कार्यालय र विद्यालयमा राजनीतिक दलले कार्यक्रम आयोजना गरिरहेको उल्लेख गर्दै यसबारे प्रशासनलाई जानकारी गराउँदा पनि त्यसरी कार्यक्रम आयोजना भइरहेको बताए ।
‘शैक्षिक संस्थालाई राजनीतिकरण गर्न हुँदैन तर यहाँ तर विद्यालयको प्रअ नै खुलेर राजनीतिक दलमा लागेको पाइयो,’ उनले भने, ‘यसबारे मैले सिडिओ र इलाका प्रहरीलाई जानकारी गराएँ । विद्यालयमा पार्टीगत कार्यक्रम अझै भइरहेका छन् ।’ यता, विद्यालयका प्रअ ब्रह्मदेव मेहता भने स्कुलमा पछिल्लो समय राजनीतिक कार्यक्रम आयोजना नभएको बताए । दुई साताअगाडि आफ्नो अनुमतिबिना नै एउटा कार्यक्रम गरेको पाइएको भन्दै उनले भने, ‘मलाई थाहा नदिई बिहान काङ्ग्रेसले एउटा कार्यक्रम गरिरहेको रहेछ । मैले उहाँहरूलाई कार्यक्रम बन्द गरेर पठाएँ ।’ त्यसपछि कुनै पनि राजनीतिक दलका कार्यक्रम विद्यालयमा नभएको उनको दाबी छ ।