उम्मेदवार चयनमै कांग्रेसको अल्झन

जनता अभियान आइतबार, बैशाख ११, २०७९

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको लागि दिएको समय शुरु हुँदा सम्म सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले महानगर र उपमहानगरका उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

पार्टीभित्रको विवादका कारण कांग्रेसले महानगर र उपमहानगरमा कस्ले उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाउन नसकेको हो । सत्ता गठबन्धनका दलहरूसँग चुनावी तालमेल गरेर चुनावी प्रतिष्पर्धामा गइरहेको कांग्रेसले ३ महानगरपालिका र ७ उपमहानगरको प्रमुख लिएको छ । यद्यपी पार्टीका शिर्ष नेताहरुले आ–आफ्ना उम्मेदवार अघि सार्दा अहिलेसम्म टुङ्ग्याउन नसकेको हो ।

बिशेषगरि मोरङको विराटनगर महानगरपालिकाको उम्मेदवार बनाउने बिषयमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, तो डा. शेखर कोइराला र कृष्णप्रसाद सिटौलाबिच सहमति कायम हुन नसक्दा कांग्रेसभित्र सकस देखिएको हो ।

पार्टी निकट स्रोतका अनुसार सभापति देउवा कांग्रेस नेता अमृत अर्याललाई अघि सार्ने पक्षमा हुनुहुन्छ भने, डा. कोइराला नागेश कोइरालाको पक्षमा हुनुहुन्छ । यस्तै नेता कृष्णप्रसाद सिटौला अहिलेका महानगरका प्रमुख भीम पराजुलीलाई नै दोहोर्याउने अडानमा हुनुहन्छ ।

संस्थापन इतर समूहले विराटनगर महानगरको प्रमुख नटुङ्गिएसम्म अन्यत्रको बिषयमा छलफल अघि बढ्न नसक्ने जिकिर गरेपछि कांग्रेसले उम्मेदवार टुङ्ग्याउन नसकेको हो ।

ललितपुर महानगरको प्रमुखमा पनि नेताहरुबीच सहमति जुट्न सकेको छैन। वर्तमान प्रमुख चिरिबाबु महर्जन र अर्का आकांक्षी प्रेमकृष्ण महर्जनले एकअर्कालाई स्वीकार नगरेपछि नेतृत्व तहमा चन्द्र महर्जनको नाममा छलफलले प्रवेश पाएको स्रोतले जनाएको छ।

काठमाडौँमा भने कांग्रेस नेतृ सिर्जना सिंहले महानगर प्रमुखको टिकट पाउने प्राय निश्चित रहेपनि टुङ्ग्याइसकेको छैन । उम्मेदवारी टुंग्याउन तीन दिनदेखि लगातार बस्दै आएको शीर्ष तहका नेताहरुबिच सहमति जुट्न सकेको छैन ।

उपमहानगरमा पनि कांग्रेसले कैलालीको धनगढी बाहेकमा उम्मेदवार टुंग्याउन सकेको छैन। धनगढीमा भने वर्तमान मेयर नृप वडलाई नै दोहोर्‍याउने निर्णय गरेको छ।

यहाँ कमेन्ट गर्नुहोस्