चंदन मेहता आइतबार, बैशाख ११, २०७९
जनता समाजवादी पार्टी (जसपा)ले अवैध रूपमा भन्सार छलेर भारतबाट ल्याएको छाता सशस्त्र प्रहरीले बरामद गरेको छ । आइतबार बिहान सुनसरीको देवानगन्ज गाउँपालिकास्थित सीमामा खटिएको सशस्त्र प्रहरीले छाता बरामद गरेको हो ।
सशस्त्र प्रहरीले भने ७२ हजार मूल्य बराबरको ४८० थान छाता बरामद भएको जनाएको छ । सशस्त्र प्रहरी बल देवानगन्जका निरीक्षक रामचन्द्र यादवका अनुसार आज बिहान ८ः१५ बजे देवानगन्ज–३ पाँचौँ सिमर माविको दक्षिणपट्टी स्थानीय सल्हेश भगतको घरबाट छाता बरामद गरिएको हो ।
‘बिहान बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको दुई पोका कालो छाता बरामद गरिएको छ,’ उनले भने, ‘कसको हो भन्नेबारे अनुसन्धान गरिरहेका छौँ । ल्याउने मान्छे पत्ता लागेको छैन ।’
यता, स्रोतले भने जसपाका कार्यकर्ताले चुनावका लागि एक लाख ९५ हजार रुपैयाँ बराबरको छाता नेपाल भित्र्याएको दाबी गरेको छ । स्रोतका अनुसार रामविलास मेहताले भने सुरुमा आफ्नो भनेर दाबी गरेपनि प्रहरीको केरकारमा आफ्नो नभइ वडाध्यक्षको भने स्वीकारेका थिए । ‘त्यो शतप्रतिशत वडाध्यक्षकै छाता हो, भोलि मनोनयनमा छातासहितको ¥याली आयोजना गर्न ल्याइएको हो,’ स्रोतले भन्यो, ‘त्यसबाहेक मतदातालाई बाँड्ने योजना रहेको सुन्नमा आएको छ ।’
स्थानीय भीमनन्दन शर्माले भारतमा किनिएको एक हजार तीन सय थान छाता आइतबार नेपाल भित्र्याइएको भए पनि प्रहरीले चार सय ८० मात्र फेला पारेको र अरू लुकाइएको दाबी गरे । उनका अनुसार जसपाका बहालवाला वडाध्यक्ष अनिल भगतले कार्यकर्ता र मतदातालाई बाँड्न छाता भन्सार छलेर अवैध रूपमा नेपाल भित्र्याएका हुन् । छातासहित दुई जना भारतीयलाई पक्राउ परे पनि प्रहरीले उनीहरूलाई छोडिदिएको उनको दाबी छ ।
‘एक साता अघिदेखि करिब दुई लाख बराबरको छाता नेपाल भित्र्याउने तयारी रहेछ,’ उनले भने, ‘भोलि मनोनयन दर्ता गराउने दिन भएका कारण उहाँले आज सबै परिमाणका छाता भित्र्याउनु भएछ । सूचनाका आधारमा प्रहरी त आयो, तर सबै छाता बरामद हुन सकेन । धेरै लुकाइयो ।’
सोमबार दिउँसो देवानगन्ज–३ को वडाध्यक्षमा भगतले आफ्नो मनोनयन दर्ता गराउँदै छन् । यस्तै, भीमनन्दन शर्मा देवानगन्ज–३ को नेतृत्वका लागि नेकपा माओवादी केन्द्रबाट आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । आसन्न स्थानीय तह निर्वाचनका लागि माओवादी देवानगन्ज गापा कमिटी अध्यक्षसमेत रहेका शर्माले दाबी प्रस्तुत गरेका हुन् । शर्मा अघिल्लो निर्वाचनमा वर्तमान वडाध्यक्ष भगतसँग ८३ मतान्तरले पराजित भएका थिए ।
छाता बरामद भएको विषयमा वडाध्यक्ष भगतले आफू पूर्ण रूपमा जानकार नभएको बताए । ‘हाम्रो चुनाव चिह्न छाता भएका कारण हामीले भित्र्याएको भनियो तर हाम्रो छाता होइन,’ उनले भने, ‘छाता बरामद भएको केही विषय थाहा पाएको छु तर कसको कति भन्ने थाहा छैन । अनि मैले भित्र्याएको भन्ने कुरा चुनावी रणनीति पनि हो । त्यो छाता मेरो होइन ।’