मिटरब्याजी महिलाले ७ लाख दिएर उठाइन् ४० लाख, प्रहरी जाहेरी लिन मान्दैन

जनता अभियान सोमबार, जेठ १६, २०७९

विराटनगर-८ की सरिताकुमारी महतोले २०७७ साल फागुन २१ गते गाउँकै रूसियल खानम श्रेष्ठसँग सात लाख रुपैयाँ ऋण लिएकी थिइन्।

उनले पटक-पटक गरेर ४० लाख तिरिसकेकी छिन्। तर, पैसा दिने श्रेष्ठले अझै पैसा माग्न छोडेकी छैनन्। मिटर ब्याजको पैसा चर्को रहेको भन्दै धाकधम्की दिएर मागिरहेकी छिन्।

महतोले रूसियल खानम श्रेष्ठको श्रीमानको इसेवा नम्बरदेखि बैंक खातामा पनि पैसा हालिदिएकी छिन्।

श्रीमानले वैदेशिक रोजगारीमा गएर कमाएको पैसा पनि सबै सकिएको बताउँदै उनले अझै पैसा नदिए मारिदिने धम्की दिने गरेको बताइन्।

‘उहाँहरूले एक लाखको महिनामा पाँच हजार ब्याज भन्नुभएको थियो,’ महतोले भनिन्, ‘तर, श्रीमान विदेश गएलगत्तै महंगो ब्याज उठाउन थाल्नुभयो, गुण्डाहरूको पैसा हो भनेर धम्क्याउनुभयो।’

गत फागुनमा महतो माइत गएकी थिइन्। श्रेष्ठ गाडी लिएर त्यहीँ पुगिन्।

‘कुटपिट मात्रै गर्नुभएन, अपहरणको शैलीमा गाडीमा हालेर वडा कार्यालयमा पुर्‍याउनुभयो,’ महतोले भनिन्, ‘त्यहाँ वडाध्यक्ष हुनुहुन्थेन, तर वडाध्यक्षलाई खोजेर गएर सहीछाप गराउनुभयो।’

ज्यान मार्छु भनेपछि डराएर आफू त्रसित हुँदै कागजमा सही गरेको उनले बताइन्। तर, वडाध्यक्षले कागजमा सही गराउँदा करकाप हो या धाकधम्की हो केही विचार नगरी सही गरिदिएपछि आफू स्थानीय सरकारबाटै पीडित बनेको उनी बताउँछिन्।

‘तीन महिनाअघिसम्म गरेर मैले ४० देखि ४२ लाख रुपैयाँजति बैंक, व्यक्तिगत र इसेवामार्फत् जस-जसको नाममा भन्नुभयो, त्यहीँ हालिदिएँ,’ महतोले भनिन्।

सोही ठाउँकी स्मिता कामतले पनि खानम श्रेष्ठसँग ५० हजार पैसा सापटी लिएर आफन्तको बिहेमा गइन्। १५ दिनको लागि भनेर लिएकोमा उनी घर आउन एक महिना लाग्यो। एक महिनाको अवधिमा घर आउँदा ५० हजारको ४५ हजार ब्याज मागियो। त्यसपछि उनी झसंग भइन्।

घरपरिवारलाई भनेर सम्बन्धविच्छेदसम्म गराइदिन्छु भनेर धम्क्याउन थालेपछि उनले पनि डरले ५० हजार लिएकोमा एक लाख तिरिन्। उनीसँग पनि श्रेष्ठले अझै पैसा मागिनै रहेकी छिन्। विभिन्न डर तथा धाकधम्की देखाएर ५० हजारको दुईदेखि तीन लाखसम्मको कागज बनाउने गरेको उनले गुनासो गरिन्।

‘मलाई इमर्जेन्सी परेका कारण १५ दिनका लागि ५० हजार रुपैयाँ लिएकी थिएँ, त्यसबेला उनले दुई–चार हजार रुपैयाँ दिनू भनेकी थिइन्,’ स्मिता कामतले भनिन्, ‘पैसा लिएपछि बाहिर गएँ, आउन डेढ महिना लाग्यो। तर आउने बित्तिकै उनले मलाई धम्काइन्, डेढ महिनाको ४५ हजार ब्याज उठेको बताइन्। म त छक्क परिरहेकी छु।’

ब्याज नतिरेमा श्रीमान्-श्रीमतीबीच झगडा लगाइदिने चेतावनी दिएको सुनाउँदै उनले भनिन्, ‘५० हजार लिएकी थिएँ। तर एक लाख रुपैयाँ तिरिसकेँ। अझै पनि पैसा मागिरहेकी छन्। पैसा कम दिएर धेरैको कागज बनाएको पाइयो।’

विराटनगर-८ कै अन्जुना कोइरालाले पनि छोरो बिरामी हुँदा उनै खानमसँग दुई लाख ऋण लिइन्। उनले पनि पाँच लाख ६० हजार लिरिसकेकी छिन्।

डर देखाएर जबरजस्ती ६ लाखको कागज बनाएर हस्ताक्षर गर्न लगाएको उनको आरोप छ। यतिधेरै तिरिसक्दा पनि चर्को मिटर ब्याजको पैसा रहेको भन्दै उनलाई अहिले पैसाको लागि बारम्बार धम्की आउने गरेको छ।

‘मैले पुस ९ गते कागज गरेर पैसा लिएकी थिएँ, मैले दुई लाख लिएकी थिएँ तर उनले पाँच लाख ६० हजार रुपैयाँ लिइसकिन्,’ उनले भनिन्, ‘कुनै प्रमाण छैन मैले पैसा दिएको किनकि मैले नगदै पैसा दिएकी हुँ। अहिले मुद्दा परेको भन्ने सुनेकी छु तर मेरो हात परेको छैन। ६ दिनकै अन्तरमा ९ लाख दिएको भनेको छ तर त्यो कसरी सम्भव भयो? अहिलेसम्म थुप्रै प्रशासन धाइयो, कतैबाट सुनुवाइ भएन।’

महतो, कामत र कोइराला देखिएका पात्र मात्र हुन्। खानमले वडा नम्बर ८ का धेरै गरिब बिपन्नहरूलाई यसरी नै ठगेको आरोप उनीहरूको छ।

उनीहरूले बाध्य भएर बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरे। पत्रकार सम्मेलन गर्ने थाहा पाएपछि सबैलाई फोन गरेर थर्काएको कुमारी महतोले बताइन।

‘आठ जना हामी पत्रकार सम्मेलनमा आउने भनेर तयारी गरेका थियौं,’ उनले भन्छिन्, ‘व्यक्ति-व्यक्तिलाई फोन गरेर पत्रकार सम्मेलनमा गइस् भने मारिदिन्छु, बेइज्जत गरिन्छु, छोरोछोरीलाई मारिदिन्छु, अपहरण गर्छु जस्ता धम्की दिएका छन्।’ धेरै जना डरले बाहिर आउन नसकेका उनको भनाइ छ।

खानम मिटरब्याजी रहेको र उनले मिटरब्याजको धन्दा नै चलाएको महतोको आरोप छ। खानमले प्रशासन, प्रहरी, अदातल सबै आफ्नै पक्षको रहेको बताउने गरेको महतो सुनाउँछिन्।

खानम मुनालपथस्थित खानेपानी संस्थानमा सामाजिक परिचालिका पदमा कार्यरत् रहेको बताइएको छ।

तिनै जनाले जिल्ला प्रहरी कार्यालयको ढोका ढकढक्याए। जाहेरी ठिक पारे। श्रेष्ठले आपराधिक लाभ लिएको उल्लेख गरे। तर, प्रहरीले जाहेरी लिन मानेन।

‘यहाँ हुँदैन, तपाईंहरूले कागजमा सही गरिसक्नुभएको छ, मिल्दैन भन्यो प्रहरीले,’ तिनै जनाले सामूहिक रूपमा भने।

मुलुकी फौजदारी अपराध संहिताको २०७४ को २५३ मा ‘आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने सम्बन्धी व्यवस्था गरिएको छ।

उपदफा (१) मा कसैले कनै व्यक्तिलाई क्षति पुर्‍याउने, डर त्रासमा पारी बेइमानीपूर्वक कुनै लाभ उठाए वा उठाउने नियतले काम गरे गराएमा आपराधिक लाभ लिएको मानिने छ भनिएको छ।

उपदफा (३) मा आपराधिक लाभ लिने नियतले कसैको ज्यान लिने, अंगभंग गर्ने वा गम्भीर चोट पुर्‍याउने डर वा त्रास देखाएमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ।

यस्तै, कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झुटो देखाउने नियतले डर, त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

जिल्ला प्रहरी कार्यालय मोरङले भने जाहेरी दिन आएका महिलाहरूले वडा कार्यालयमै गएर कागज गराएकाले आपराधिक लाभ लिएको कसुरमा जाहेरी लिन नसकिएको दाबी गरेको छ।

‘वडा कार्यालयमा गएर लेनदेनको कागज प्रमाणित गर्नुभएको छ, त्यसैले हामीले आपराधिक लाभ लिएको कसुरमा जाहेरी लिन सकेनौं,’ प्रहरी नायब उपरीक्षक राजन कार्कीले भने, ‘लेनदेनको विषय प्रहरीले होइन, अदालतले हेर्छ।’

यहाँ कमेन्ट गर्नुहोस्