जनता अभियान सोमबार, जेठ १६, २०७९
मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने मोरङ कटहरी गाउँपालिका-४ ठेगाना भएका २५ वर्षीय सुरजकुमार साह, वीरगञ्ज महानगरपालिका-१६ फुलबारी टोल डेरा गरी बस्ने जुम्ला हेमा गाउँपालिका-३ जोगीवडा टोल ठेगाना भएका ३५ वर्षीय हरिचन्द्रनाथ योगी र वीरगञ्ज महानगरपालिका-१६ स्थित कार्की होटलकी सञ्चालिका संखुवासभा खाँदवारी नगरपालिका-१० ठेगाना भएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की) रहेका छन्।
सुरजकुमार साहले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगञ्ज बोलाएका थिए।
बसपार्कस्थित एक होटलमा लगि पटक-पटक करणी गरेपश्चात् जेठ ९ गते वीरगञ्ज महानगरपालिका-१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मी बुढाथोकीको जिम्मा लगाएर आफू भागेका थिए।
प्रहरीका अनुसार जेठ १० गते लक्ष्मी बुढाथोकीले ‘विवाह गर्छ’ भनी झुक्याई हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएको र योगीले पीडितलाई आफ्नो कोठामा लगि मानसिक र शारीरिक यातना दिई पटक-पटक जबरजस्ती करणी गरेको पर्सा प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरू उपर जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।