शिक्षा,स्वास्थ्य, कृषि र आबासमा सुधारको माग गर्दै भोक्राहा नरसिंहको वडामा ज्ञापन पत्र

जनता अभियान बुधबार, जेठ २५, २०७९

शिक्षा,स्वास्थ्य, कृषि र आबासमा सुधारको माग गर्दै सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको सबै वडामा ज्ञापन पत्र बुझाएको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा २०७६ कार्तिकदेखी नियमित भएर मानव अधिकार रक्षाको पक्षमा वकालत गर्दै सचेतनामुलक अभियान समेत गर्दै आएको मानव अधिकार समूहले माग तथा सुझाव सहितको ज्ञापन पत्र बुझाएको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाको १ देखी ८ नम्बर वडासम्मका प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी जिम्मेबार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत मानव अधिकार समूहको गठन भएको र गाउँपालिकाको सहकार्य र वडा कार्यालयहरुको संयोजन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगरको समन्वयमा गापामा शिक्षा, स्वास्थ्य, खाध्य र अबाश अधिकारको बारेमा जानकारी सहितको अभियान जारी राखेको बेला ज्ञापन पत्र बुझाएको समूहका अध्यक्ष नुनुलाल साहले जानकारी दिनुभयो । समूहले ८ वटै वडामा अनुगमन र सेवाग्राहीहरुसंगको प्रत्येक्ष भेटघाट, अन्तरवार्ता र समूहको आयोजनामा सम्पन्न गरिएको वडास्तरीय गोष्ठी कार्यक्रममा आएका सवालहरुको आर्थिक वर्ष २०७९।०८० को बार्षिक बजेट, नीति तथा कार्यक्रममा सम्बोधन गर्न आवश्यक रहेकाले माग र सुझाव सहितको ज्ञापन पत्र बुझाएको साहले बताउनुभयो ।

साहका अनुसार वडाहरुमा कृषि, पशु , शिक्षा र स्वास्थ्य संस्था वा शाखामा जवाफदेहिता र नियमितताका लागि सुझाव दिने गरि प्रभावकारी अनुमगन गर्नुपर्ने, सुकुम्बासीहरुको समस्या अझै कायम रहेकाले त्यसको समाधानका लागि पहल गर्नुपर्ने, विपन्न र गरिब समुदायका लागि सचेतना र स्वरोजगार सहितको विषेश कार्यक्रम ल्याउनुपर्ने , सुकुम्बासी विपन्न, दलित समुदायको आवासको अधिकार अन्तरर्गत तथ्यांक संकलन गर्नुपर्ने र उपलब्ध भएसम्म आबाश अधिकार सुनिश्चित गर्नुपर्ने, स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनुपर्ने, सिजनमा कृषकहरूलाई रासायनिक मल, उन्नत जात बिउविजन उपलब्ध गराउन पहल गनुपर्ने, माटो सुहाउदो बालीका लागि माटो परीक्षण शिविर सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ ।

त्यसैगरी विद्यालय शिक्षामा गुणस्तरीयताका लागि विद्यालयहरुमा विषयगत शिक्षकको थप व्यवस्था गर्नुपर्ने, कृषि, पशु, शिक्षा र स्वास्थ्यमा अनुगमन गरि अनुशासित, नियमितता, जवाफदेहिता र जिम्मेबारी प्रति उत्तरदायी भएकाहरु मध्ये उतकृष्ठलाई सम्मान गर्नुपर्ने, शिक्षामा गुणस्तर कायम गर्नका लागि शिक्षकमा दण्ड र पुरस्कारको नीति कार्यान्वयन गर्नुपर्ने, विधार्थी र शिक्षकलाई दण्ड र पुरस्कार विभेद रहित तरिकाले गर्ने नीति अबलम्बन गर्नुपर्ने, अभिवावक शिक्षाका लागि प्रत्येक विद्यालय क्षेत्रमा अर्ध बार्षिक, वा वार्षिक रुपमा अन्तरकृया गर्नुपर्ने, उदाहरणीय तथा नमुना विद्यालय तह गत रुपमा बनाउन पहल गर्नुपर्ने, विद्यालय व्यवस्गापन समिति गठन हुन नसकेको र म्याद सकिएको ठाउँमा समिति गठन गर्न पहल गर्नुपर्ने, दुवै जनता माविलाई मावि शिक्षकको थप व्यवस्था गरी क्रमशः कक्षा ११ र १२ को उच्च शिक्षाका लागि पहल गर्नुपर्ने, सुशासनका लागि चौमासिक रुपमा सार्वजनिक सुनुवाई, योजना अनुसारको सार्वजनिक परीक्षण र वार्षिक रुपमा सामाजिक लेखाजोखा गर्ने गरी सामाजिक परीक्षण जनसहभागितामा गर्नुपर्ने माग गरिएको छ । त्यसैगरी लक्ष्ति वर्गको कार्यक्रमहरुलाई लक्ष्ति समुदायबाटै संचालनको लागि वर्षिक बजेट विनियोजन गर्नुपर्ने, बालबालिकाको अधिकार, महिला सशक्तिकरण र क्षमता तथा नेतृत्व विकास कार्यक्रमका लागि बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिएको समूहका सचिव सुरेन्द्र मेहताले जानकारी दिनुभयो ।

भोक्राहा नरसिंह गाउँपालिका ६ नम्बर वडा अध्यक्ष सेराजुद्धिन अंसारी, ३ नम्बर वडा अध्यक्ष धिरेन्द्र कुमार यादव, ८ नम्बर वडाध्यक्ष उस्मान मियाँ सहितलाई कार्यालयमा ज्ञापन बुझाएको सचिव मेहताले जानकारी दिनुभयो । ज्ञापन बुझाउने कार्यक्रममा समूहका भोक्राहा नरसिंह अध्यक्ष नुनुलाल साह, उपाध्यक्ष आशादेवी पौद्धार, सचिव सुरेन्द्र मेहता, सहसचिव सल्लाउद्धिन असारी, सदस्यहरुमा रविन्द्र कुमार यादव, पुजा कुमारी मेहताको उपस्थिती रहेको थियो । त्यसैगरी सल्लाहकार जमालुद्धिन मंसुरी समेतको सहभागि रहनुभएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्