प्रदेश १ को नामाकरण गर्न कसरतमा दलहरू

जनता अभियान मंगलबार, आषाढ २१, २०७९

प्रदेश १ को नाम टुंगो लगाउन प्रदेशसभाका ठूला दल नेकपा एमाले र नेपाली काँग्रेसले छलफललाई तीब्रता दिएका छन् ।

प्रदेश सभा सचिवालयमा सोमबार (हिजो) भएको छलफलमा नेकपा (एमाले)ले काँग्रेससँग औपचारिक रुपमा ‘कोशी’ प्रदेशमा सहमति जनाउन प्रस्ताव गरेको छ । नेपाली काँग्रेसले भने सत्ता गठबन्धनका अन्य दलहरु उक्त नाममा असहमत रहेको बताउँदै विकल्प खोज्न एमालेलाई सुझाव दिएको छ ।

‘उहाँहरुको कोशी प्रदेश नाम राखौं भन्ने प्रस्ताव थियो, हामीले भूगोलकै आधारमा राख्ने भएपनि कोशीको विकल्प खोज्न भनेका छौं,’ कांग्रेसका एक नेताले भने, ‘नामको विषयमा भने यही असारभित्र सक्नुपर्छ भन्ने दबाब पनि दिएका छौं ।’

बैठकमा नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता भीम प्रसाद आचार्य, संसदीय दलका उपनेता यशोदा अधिकारी, पूर्वमन्त्री जीवन घिमिरे, राजकुमार ओझा र जगदिश प्रसाद कुसियतको सहभागी थिए भने काँग्रेसका तर्फबाट संसदीय दलका नेता राजिव कोइराला, प्रमुख सचेतक सूयर्माराज राई, सांसदहरु लोकप्रसाद संग्रौला र शिवनारायण गनगाई सहभागी थिए ।

‘आजको बैठकले प्रक्रियामा लगेर भएपनि नामको विषय टुंग्याउनु पर्छ भन्ने सहमति भएको छ,’ काँग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले भने, ‘प्रदेशसभा छिटो बोलाउन सभामुख र मुख्यमन्त्रीलाई आग्रह गरिने पनि निर्णय भएको छ ।’

राईका अनुसार नामको विषयमा विभिन्न विकल्पमा खुल्ला रहने दुईदलबीच सहमति पनि भएको छ । ‘कोशी, सगरमाथा वा किराँत जे भएपनि नामको विषयमा खुल्ला रहने र छलफल गर्न सहमत भएका छौं,’ उनले भने ।

यता नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले पनि छलफलमा दुवै दलका नेतालाई छिटो नामको विषय टुंग्याउन दबाब दिएको बताए । ‘हामीले नामको विषय छिटो टुंग्याउन दबाब दिएका छौं, प्रक्रियामा लाने भए प्रक्रियामा जाउँ भन्ने हिसावले दुवै दलका समितिहरुबाट सुझाव पेश गरिएको छ,’ कार्कीले भने, ‘नामको विषयमा ठोस ढंगले यही राख्ने भन्ने विषयमा छलफल भएन ।’

नेपाली काँग्रेस संसदीय दलले नामको विषयमा छलफल गर्न संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा यसअघि नै समिति निर्माण गरेको छ । उक्त समितिमा कोइरालासहित, केदार कार्की, सूयर्माराज राई, शेखरचन्द्र थापा, लोकप्रसाद संग्रौला र शिवनारायण गनगाईं रहेका छन् । यद्यपि नामको विषयमा निर्णय गर्ने अधिकार कोइरालालाई दिएको काँग्रेसले जनाएको छ ।

यता नेकपा एमालेले पूर्व मन्त्री तथा प्रदेश सांसद हिक्मतकुमार कार्कीको संयोजकत्वमा जीवन घिमिरे, उषाकला राई, राजकुमार ओझा, जगदिशप्रसाद कुसियैत रहेको समिति निर्माण गरेको छ । उक्त समितिले एक चरणको वार्ता तथा छलफल गरिसकेको छ । ‘हामीले एमाले र काँग्रेसका नेताहरुलाई अन्य दल माओवादी, नेकपा (एकीकृत समाजवादी)सँग पनि छलफल अगाडि बढाउन भनेका छौं,’ कार्कीले भने, ‘छिट्टै सर्वदलीय बैठक राख्न सुझाव दिएका छौं ।’

यता सरकारका तर्फबाट वार्ता तथा छलफल समितिका संयोजक जयराम यादवले २४ गतेका लागि सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भइरहेको बताए । ‘हामी गठबन्धन दलबीच २४ गतेलाई बैठक राखौं भन्ने अनौपचारिक छलफल भएको छ, प्रतिपक्षी दलसँग आवश्यक परामर्श गरेर सर्वदलीय बैठक राख्नेछौं,’ उनले भने ।

अहिले प्रदेशको नाम कोशी, सगरमाथा, किराँत, विराट, विजयपुर, कञ्चनजङ्घा लगायत थुप्रै नामको विषय छलफलमा छन् । प्रदेशसभाका सांसदहरुले पनि यही अधिवेशनबाट प्रदेशको नामाकरणको टुंगो लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । ७ प्रदेशमध्ये ६ वटा प्रदेशको नामाकरणको टुंगो लागि सकेको छ । प्रदेश १ प्रदेशसभाको कार्यकाल सकिन केही महिनामात्रै बाँकी छ । प्रदेश १ ले राजधानी कहाँ राख्ने भन्ने विषयमा ठोस गरेको भएपनि नामाकरणको विषयमा १० वटा अधिवेशनभर चर्चामा मात्रै रहयो । प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच सहमति भएको छैन ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेशसभामा दुई तिहाई बहुमत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ३८, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना सांसद गरी ८९ जना सांसद रहेका छन् ।

प्रदेशको नाम पहिचानको आधारमा ‘किरात–लिम्बुवान–मधेश–शेपालुङ प्रदेश’ राख्न जनता समाजवादी पार्टीले यसअघि नै प्रस्ताव गरेको छ । तर, ठूला दलहरु कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले भने आ–आफ्नो पार्टीमा नामको विषय टुंगो लगाउन अझै सकेका छैनन् ।

यहाँ कमेन्ट गर्नुहोस्