जहदामा मध्यरातमा जन्तीमाथि कुटपिट, जलाइयो मोटरसाइकल 

विनोद मेहता मंगलबार, आषाढ २१, २०७९

मोरङको जहदा गाउँपालिकामा जन्तीमाथि कुटपिट भएको छ। सोमबार राति १ बजेतिर रतुवामाई नगरपालिकाबाट आएको जन्तीको समूहमाथि बेहुली पक्षले कुटपिट गरेको हो।

मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जहदा–२ मा जन्ती र बेहुली पक्षबीच झडप भएको थियो। झडपमा एउटा मोटरसाइकल समेत जलेर नष्ट भएको उनले बताए।

उनका अनुसार झडपमा परी घाइते भएकाहरू सामान्य उपचारपछि मंगलबार दिउँसोतिर कोसी अस्पतालबाट डिस्चार्ज भएका छन्। घटनाका बारेमा अनुसन्धान भइरहेको बताउँदै डिएसपी थप जानकारी आउन बाँकी रहेको बताए।

यता, जहदा–२ वडाध्यक्ष चन्द्रशेखरकुमार साहले राति २ बजेतिर दुई समूहबीच कुटाकुट भएको थियो। कुटपिटमा जन्ती पक्षका धेरै जना घाइते भएको उनले बताए।

यस्तै, इलाका प्रहरी कार्यालय जहदाका असई प्रकाश कार्कीले झडपका क्रममा स्थानीयको को १८ प ७५४१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ। कुटपिटको कारण भने यकिन भइनसकेको उनको भनाइ छ।

यहाँ कमेन्ट गर्नुहोस्