जनता अभियान बिहिबार, आषाढ २३, २०७९
सुनसरीमा ‘जनताका नेता’ को उपनाम पाएका प्रतिनिभिसभा सदस्य तथा पूर्वराज्यमन्त्री सीताराम मेहताले बिना हेल्मेट मोटरसाइकल चलाउँदै गरेको फोटो अहिले चर्चाको विषय बनेको छ।
भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीका रूपमा अनुभव संगालिसकेका मेहताले सर्वसाधारणलाई सवारी चलाउँदा हेल्मेट लगाएर सुरक्षित यात्रा गर्नतिर सचेत बनाउनु पर्नेमा आफैं बिना हेल्मेट सवारी चलाएपछि उनको फोटो भाइरल भएको हो।
फोटोमा उनी ‘एभेन्जर’ मोटरसाइकलमा बजारतिर हुँइकिँदै गरेको देख्न सकिन्छ।
‘लाइसेन्स दिने निकायमा समेत काम गरिसकेका सांसदमा कस्तो सेन्स नभएको?,’ सामाजिक सञ्जालमा धेरैको टिप्पणी छ। अनि धेरैले ट्राफिक नियम उल्लंघन गर्ने सांसदलाई कारबाही हुनेमा आशंका व्यक्ति गरेका छन्।
स्रोतका अनुसार सो मोटरसाइकल इनरुवा नगरपालिकाले उनलाई उपलब्ध गराएको हो।
इनरुवा नगरपालिकाका निवर्तमान नगरप्रमुख राजन मेहताले आफ्नो कार्यकालमा सो मोटरसाइकल उपलब्ध गराएका थिए। राजन नाताले सीतारामका भतिजा हुन्।
नगरपालिकाले दिएको मोटरसाइकलमा दैनिक रूपमा हेल्मेटबिनै हुँइकिए पनि ट्राफिक प्रहरी वा सम्बद्ध निकाय उनका अगाडि मुकदर्शक बन्ने गरेको छ। ‘कारबाही गर्ने कसको आँट?,’ स्थानीय भन्छन्, ‘उहाँको यो दैनिकी हो। सर्वसाधारणलाई सचेत बनाउनतिर लाग्नु पर्नेमा आफैं नियम उल्लंघन गर्नु ठिक होइन नि!’
यता, सांसद मेहता भने इनरुवाको शान्तिचोकमा रहेको सोरुममा मोटरसाइकल सर्भिस गरेपछि ‘टेस्ट राइड’ गर्दा फोटो खिचिएको बताए।
‘हैट! मेरो फोटो त केटाहरूले भाइरल नै बनाइदिएछन्,’ उनले जनता अभियानसँग भने, ‘सर्भिसिङ गरेपछि टेस्ट राइड गर्दै थिएँ। हेलमेटबिना करिब दुई सय मिटर मोटरसाइकल हाँके होला। कसले फोटो खिचेर सोसल मिडियामा राख्न भ्याइहालेछन्।’
उनका अनुसार मोटरसाइकल मर्मत गरेपछि मिस्त्रीले ‘टेस्ट राइड’ गर्न दिएका थिए। कन्डिसन चेक गर्नेक्रममा आफ्नो फोटो खिचिएको बताउँदै उनले भने, ‘कसैले ठठ्टा गर्न पो हालिदिएको हो कि! म नियम तोड्ने मान्छे त होइन।’
नेपाली कांग्रेसका सच्चा सारथी मानिने उनलाई इनरुवाको सेरोफेरोमा ‘जनताको नेता, सीताराम मेहता’ भन्ने स्लोगन नै छ।
सुनसरीभित्रको हरेक कार्यक्रममा उपस्थिति जनाउने भएकै कारण उनलाई जनताका नेता भनिएको हो। सम्झिएर खबर गरेमा र सूचना दिएमा साना-ठूला हरेक कार्यक्रम र अवसरहरूमा उनी पुगेकै हुन्छन्।
सरलता र आफ्नोपनका कारण सुनसरी जिल्लामा निकै लोकप्रिय रहेका उनले २०२९ सालबाट नेपाल विद्यार्थी संघको सदस्यका रूपमा राजनीतिक यात्रा थालेका हुन्।
इनरुवा नगरपालिकाको उपप्रमुख, कार्यवाहक प्रमुख, संविधानसभामा सभासद र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीका रूपमा काम गरिसकेका छन्, उनले ।
मेहता २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका हुन्। त्यसबेला उनले डम्बर सुवेदी (हिमाल)लाई पराजित गरेका थिए। अब, आगामी संघीय निर्वाचनमा पनि उठ्ने योजना उनको छ।
‘चुनावको तयारी चल्दै छ,’ उनले भने, ‘पार्टीले मौका दिएमा पुनः चुनाव जित्नेमा निर्धक्क छु।’
अहिले उनी अर्थमन्त्री प्रकरणको छानबिन गर्न बनेको छानबिन समितिको सदस्य पनि हुन्।
आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको प्रश्न उठेपछि जनादर्शन शर्माले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए।
बुधबार प्रतिनिधिसभा बैठककै क्रममा शर्माले राजीनामा दिएका हुन्। यो विषयमा छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ। यो समितिमा उनी पनि सदस्यका रूपमा छन्।