जनता अभियान शुक्रबार, आषाढ २४, २०७९
धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले मेयरका लागि किनिएको गाडी बेचेर रोड रोलर किन्ने घोषणा गरेका छन्।
मेयरका लागि भनेर उपमहानगरपालिकाले किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएका हुन्।
मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो। तर उनी सरकारी गाडी नचढेर निजी मोटरसाइकल चढ्छन्। उपमहानगरपालिकामा प्रमुखका लागि को १ झ ६४० नम्बरको स्कार्पियो गाडी छ।
उक्त गाडीलाई ३० लाख रुपैयाँमा बेच्ने र रोड रोलर किन्ने प्रस्ताव साम्पाङले राखेका थिए। गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ।
उनले फेसबुकमा लेखेका छन्, ‘मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो। आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ। जय धरान।’