मोरङ कारागारमा कोरोना सङ्क्रमण फैलियो

जनता अभियान शुक्रबार, आषाढ ३१, २०७९

विराटनगरस्थित मोरङ कारागारका कैदीबन्दीमा कोरोना सङ्क्रमण फैलिएको छ ।

कारागारमा एकै पटक धेरै व्यक्तिमा ज्वरो आएपछि एन्टिजेन परीक्षण गर्दा १६ जनामा कोरोना सङ्क्रमण पाइएको हो । सङ्क्रमित सबै कैदीबन्दीलाई कोभिड अस्पताल भर्ना गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।

कारागारमा सङ्क्रमण फैलिएपछि कारागारभित्रका अन्य बिरामीहरुलाई आइसोलेट गर्ने तयारीसमेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो, ‘‘मोरङ कारागारको अवस्था खराब भयो, त्यहाँका केही कोठालाई आइसोलेटेड गर्ने तयारी भइरहेको छ ।’’

उच्च ज्वरोका कारण कारागारका ३९ वर्षे कैदी निरबहादुर नेपालको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो । तर, नेपालको मृत्यु भने कोरोनाका कारण नभएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो । नेपालको कोरोना परीक्षण नभएका कारण कोरोनाकै कारण मृत्यु भएको भन्न नसकिने उहाँको भनाइ छ ।

मोरङ कारागारका १८ जना कैदीबन्दीको एन्टिजेन परीक्षण गरेकोमा २ जनामा भने नेगेटिभ रिपोर्ट आएको थियो ।

मोरङ कारागारमा क्षमताभन्दा तीन गुणा बढी एक हजार ८७ जना कैदीबन्दी छन् । कारागारको क्षमता तीन सयजना भए पनि एक हजार बढी कैदीबन्दी राखिएको र त्यहाँ सङ्क्रमण फैलिएपछि समस्या भएको छ । कारागारको महिला ब्लकमा भने सङ्क्रमण फैलिएको छैन ।

प्रमुख जिल्ला अधिकारी दाहालले कारागारका कैदिबन्दीहरुलाई कोरोनाविरुद्धको खोप लगाइएको जानकारी दिँदै त्यसको विस्तृत विवरण माग गरेको बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्