जनता अभियान बुधबार, साउन २५, २०७९
साउन १३ गते शुक्रबार बिहान ११ः३० बज्दैथियो।
सुनसरीको बर्जु गाउँपालिका-३ धुमडी चोककी २६ वर्षीया चन्द्रकलादेवी राय घास काट्न नजिकैको खेतमा पुगेकी थिइन्।
वृद्धा उमेरकी बुढी सासू र दुई सन्तानलाई घरमा छोडेर उनी घाँस काट्न पुगिन्। उनका श्रीमान् सकलदीप बर्जु-३ धुमडी चोकमा चटपटे बेच्न ठेला लिएर हिँडिसकेका थिए।
चाँडो गरेर घर फर्किन छिटो-छिटो हात चलाउन थालिन्।
त्यो खेतमा श्रीमान् सकलदीप र चन्द्रकलादेवी मिलेर एक कठ्ठा जमिनमा धान लगाएका छन्।
सोही खेतको आलीमा धुलेघाँस काट्दै थिइन् उनी। सकलदीप बजारमा चटपटे बेचेर साँझतिर मात्र घर फर्किन्थे।
धुलेघाँस खुर्किंदै भारी पुर्याउने ध्याउन्नमा थिइन् चन्द्रकलादेवी। यसै क्रममा छिमेकी ४० वर्षीया संगीता राय घाँस काटेको ठाउँमा पुगिन्।
संगीता आफ्नो खेतमा घाँस काट्नुको कारण सोध्दै चन्द्रकलासँग विवाद गर्न थालिन्।
संगीता र चन्द्रकलादेवीको एउटै साँध भएको जग्गा छ। आफ्नैपट्टी मात्र घाँस काटेको भन्दै चन्द्रकलादेवी घर फर्किइन्
संगीता पछ्याउँदै चन्द्रकलादेवीकै घर पुगिन्। संगीता र उनको घर १० मिटर फरकमा छ। लछारपछार चल्यो। त्यहीबीचमा संगीताका परिवारका पाँच सदस्य चन्द्रकलादेवीको घरमा पुगे।
चन्द्रकलामाथि मुक्का बर्साउन थाले। घरमा भएकी बुढी सासू र छोराछोरी रुन थालेपछि कोलाहल मच्चियो। नजिकै रहेका छिमेकहरूको झगडा छुट्याउने प्रयास गरे। तर, संगीताको परिवारका सामुन्ने छिमेकीहरू निरीह देखिए।
अरूले हात समातेर कुटपिट गरिरहेका बेला संगीताले चन्द्रकलाको यौनांगमा हात पुर्याइन्। हात घुसारेर योनी क्षतविक्षत् पारिदिइन्।
यौनांगबाट अत्यधिक रक्तस्राव भएपछि चन्द्रकलादेवी बेहोस् भइन्। यति भइसकेपछि संगीता र उनका परिवार घरतिर फर्किए।
त्यतिबेलासम्म घडीले १२ बजाइसकेको थियो।
गाउँलेले सकलदीपलाई फोन गरेर घटनाबारे बताएपछि उनी चटपटेको ठेला छोडेर घरतिर दौडिए। वडाध्यक्ष विनोद गुरुङसँग सम्पर्क गरेपछि एम्बुलेन्समा हालेर चन्द्रकलादेवीलाई विराटनगरस्थित कोसी अस्पताल पुर्याए।
‘त्यो दिन हाम्रो अस्पतालमै बास भयो,’ सकलदीपले भने।
थप उपचार गर्ने पैसा भएन। सरकारी अस्पताल कोसीले पैसाबिना उपचार दिएन पनि।
सकलदीप श्रीमतीलाई डिस्चार्ज गरेर घर फर्किए। बिरामी अवस्थाकी चन्द्रकलालाई लिएर वडा कार्यालय पुगे। वडाध्यक्ष गुरुङलाई पीडक पक्षलाई थप उपचारका लागि पहल गरिदिन आग्रह गरे।
वडाध्यक्षले भने आफूले व्यक्तिगत रुपमा सहयोग गर्ने आश्वासन दिए। चन्द्रकलाको व्यथालाई गम्भीर रुपमा नलिइकन वडाध्यक्षले घटना मिलापत्र गर्न पीडित परिवारलाई दबाब दिन थाले। सकलदीप भने मुद्दा-मामिला र मिलापत्रभन्दा पनि श्रीमतीको स्वास्थ्यलाई प्राथमिकतामा लागे। श्रीमतीलाई पुनः कोसी अस्पताल पुर्याए।
घटना भएको एक सातापछि चन्द्रकलाको मृत्यु भयो। उनको मृत्युपछि पीडित पक्षले खरी प्रहरी चौकीमा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिए। त्यसपछि संगीता पक्राउ परिन्।
तर, संगीतासँगै गएका श्रीमान् रामजजिन राय, सदस्य मीठु राय, झल्कीकुमारी रायलगायत भने अहिलेसम्म फरार छन्।
घटनास्थल आसपासका छिमेकीहरूका अनुसार यो घटना संगीता एक्लैले गराउन सम्भव देख्दैनन्।
‘एक्लै कसैलाई समातेर, पछारेर यौनांग क्षतविक्षत हुनेगरी हात घुसार्न सम्भव देखिन्न,’ मृततका मामाससूरा रञ्जित रायले भने, ‘यो सामूहिक प्रयासबाट हत्या भएको हो।’
सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले संगीतालाई हिरासतमा राखेर अनुसन्धान थालिएको जानकारी दिए। उनका अनुसार सोमबार इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जयदेव माझीको नेतृत्वमा खटिएको प्रहरी टोलीले संगीतालाई नियन्त्रणमा लिएको हो।
‘चन्द्रकलाको मृत्युपछि पीडित पक्षले जाहेरी दिनुभयो, त्यसलगत्तै आरोपितलाई पक्राउ गरेका हौं,’ उनले जनता अभियानसँग भने, ‘अनुसन्धानका क्रममा छौं। पोस्टमार्टम रिपोर्ट आएपछि बाँकी विषय खुल्ने छ।’
इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक माझीका अनुसार संगीताका श्रीमान् फरार छन्। अन्य, व्यक्तिहरू को-को थिए भन्नेबारे संगीतासँग बयान चलिरहेको छ।
‘पुरक जाहेरीपछि सरकारी वकिलको कार्यालयसँग परामर्श गरी पक्राउ अनुमति लिन्छौं,’ उनले भने।
मृतक चन्द्रकलाका श्रीमान् सकलदीप १० वर्षयता नजिकैको चोकमा चटपटे बेच्दै आएका थिए।
चन्द्रकलासँग विवाह हुनुअगावै चटपटे बेच्न थालेका उनले त्यसबाटै जीविका चलाउँदै आएका थिए।
आठ वर्षीया छोरी र ११ वर्षीया छोराको पढाइलेखाइ, वृद्धा आमालाई औषधोपचार र घरायसी खर्च सबै चटपटेको ठेलाबाट भएको आम्दानीले धान्दै आएका थिए।
साउन १३ गते पनि चटपटे बेच्दैगर्दा श्रीमतीमाथि निर्घात कुटपिट भएको थाहा पाए। श्रीमतीलाई विराटनगरमा सामान्य उपचार गरेर उनीहरू घर फर्किए। तर, परीक्षणका क्रममा यौनांग क्षतविक्षत भएको र यौनांगभित्र काँचको चुरा देखिएपछि सकलदीप थप उपचारका लागि रकम संकलनमा लागे।
‘रिपोर्टमा काँचको चुरा देखिएको डाक्टरहरूले बताएका थिए, थप उपचार गर्ने रकम थिएन,’ उनले भने, ‘पीडित पक्षले देला भन्ने अपेक्षाले गाउँ फर्किएँ। वडाध्यक्ष मिलापत्रतिर लाग्नुभयो। उहाँले पनि आश्वासन अनुरुप केही दिन सक्नु भएन। चुरा अड्किएको रहेछ, त्यसले नै साह्रो पार्यो।’
सकलदीपले चन्द्रकलालाई दुई पटक गरेर एक हप्ता अस्पताल राखे।
पहिलो पल्ट चन्द्रकलाको स्वास्थ्यवस्था सुधारोन्मुख देखिएपछि सकलदीप वडा कार्यालय धाउँदै पुनः चटपटे बेच्न थालेका थिए। त्यसबीचमा कुटपिटको घटनामा मिलापत्र गरौं भनेर गाउँका अगुवाहरूले प्रस्ताव राखेका थिए।
पीडक पक्षले उपचार खर्च बेहोरेमा मिलापत्र गर्न पीडित पक्ष पनि राजी थिए। तर संगीताका परिवार भने मरेको खण्डमा कात्रो किनिदिने तर उपचार खर्च नदिने भन्ने अडानमा थियो। यसैले पीडित पक्षले मिलापत्रको प्रस्ताव नकार्दै आएका थिए।
‘मरेमा कफन किनिदिने तर उपचार खर्च नदिने भन्दैथिए,’ मृतकका मामाससूरा रञ्जित रायले भने, ‘संगीतालाई उनका भाइ उदय रायको साथ थियो। उदय प्रहरीका हवल्दार हुन्। उनले प्रहरी प्रशासनदेखि जनप्रतिनिधिसम्मलाई सुटुक्क मिलापत्र गर्न दबाब दिएका थिए। तर हामीले मानेनौं र विरोध गरिरह्यौं।’
मिलापत्र गर्न नमानेपछि प्रहरीले मृतकका श्रीमान् सकलदीपलाई घाइते बनायो।
मिलापत्र गर्न किन नमानेको भन्दै खरी प्रहरी चौकीका प्रहरी जवान राहुल अमात्यले सकलदीपको तिघ्रामा हल न चल हुनेगरी कुटे। पीडितमाथि नै कुटपिट भएपछि स्थानीयले त्यसको चर्को विरोध गरे। लगत्तै अमात्यको सरुवा भयो तर कारबाही भने भएन।
प्रहरीको कुटाइबाट घाइते भएका सकलदीपले पुनः चन्द्रकलालाई कोसी अस्पताल पुर्याए। केही दिनको उपचारपछि आइतबार राति १२ बजे चन्द्रकलाको मृत्यु भयो। त्यसपछि शव बोकर गाउँ फर्किए।
गाउँको घटना गाउँमै सीमित गरौं भनेर जनप्रतिनिधि लागे। तर, पीडित पक्ष जनप्रतिनिधिको प्रस्ताव अस्वीकार गर्दै आन्दोलित बने।
बर्जु गाउँपालिका वडा नम्बर ३ को कार्यालयमा मंगलबार दिनभर शव राखेर पीडित पक्षले आन्दोलन गरे। मृतकका आफन्तको भिडलाई सामसुम पार्न पुगेका वडाध्यक्ष गुरुङमाथि पनि आक्रमण भयो। आफूमाथि कुटपिट भएपछि उनी नजिकै रहेको एउटा घरमा लुकेर बसे। त्यसपछि पुगेका सुरक्षाकर्मीले उनको सुरक्षा दिँदै भिड नियन्त्रणका लागि प्रयास गरिरह्यो।
सुरक्षाकर्मीकै निगरानीमा रहेका बेला पत्रकारहरूलाई भेट्न अनुमति दिएका वडाध्यक्ष गुरुङले भने, ‘मेरो ज्यानै लिने प्रयास भयो। सबैतिरबाट सहमति भएपछि अन्त्येष्टि गर्ने तयारीमा थियौं।’
पीडक पक्षबाट उपचार खर्च पाउने गरी सहमति भएको बताउँदै उनले भने, ‘कुटपिटपछि पीडक पक्षले उपचार खर्च बेहोर्ने सहमति भएको थियो। मैले पनि व्यक्तिगत रुपमा सहयोग गर्ने बताएको थिएँ। तर उहाँहरू माग्न आउनु भएन। पछि धेरै ढिला भइसकेछ।’
कुटपिटको घटनालाई आफूले हलुका रुपमा लिँदा यस्तो परिस्थिति आइपुगेको उनले स्वीकार गरे।
आफन्तले वडा कार्यालयबाट शव उठाएर दाहसंस्कार गरेपछि बर्जु-३ अहिले केही शान्त भएको छ।
तर, सकलदीपको परिवार विक्षिप्त छ। सकलदीपले उमेर छँदै आफ्नी श्रीमती गुमाएका छन्। छोराछोरी आमाविहीन भएका छन्।
थाहा छैन सकलदीपलाई बाँकी जीवनको गोरेटो कसरी कोरिन्छ भन्ने।
छिमेकीहरू संगीताको घर देख्नेवित्तिकै तर्सिन्छन्। उनीहरूका अनुसार संगीता हिरासतमा पुगेपछि उनको परिवार फरार छ। संगीताको माइतीबाट एक जना छोरी मान्छे आएर वस्तुभाउलाई घाँस-खोले दिने गरेको छिमेकीहरूले बताए।