जनता अभियान सोमबार, भाद्र ०६, २०७९
विराटनगर । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किङ्सले पनि भाग लिने भएको छ ।
आउँदो सेप्टेम्बर २४ तारिखदेखि अक्टोबर २२ तारिखसम्म काठमाण्डौंमा हुने फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा प्रदेश १ को प्रतिनिधित्व गर्दै विराटनगर सुपर किङ्सले सहभागि जनाउने भएको हो ।
यो प्रतियोगिता नेपालमा पहिलो पटक हुन लागेको छ । क्रिकेटको सर्वोच्च निकाय आइसिसले मान्यता दिएको प्रतियोगिता हो । देशभरीका ६ वटा टिमले यो प्रतियोगितामा भाग लिनेछन् । भारत, नेपाल, अमेरिका र युकेका व्यापारीले ६ टिमको मालिक रहेका छन् ।
विराटनगर सुपर किङ्सको मालिक भारतका युवा व्यापारी बिक्रम यादव रहेका छन् । यादवले विराटनगर सुपर किङ्सको लागि खेलाडीहरू छनौट गर्न लागि परेका छन् । फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा विराटनगर सुपर किङ्समा टेस्ट खेल्ने राष्ट्रको खेलाडी भित्र्याउने तयारीमा रहेका छन् । सुपर किङ्स टिममा विराटनगरबाट पनि खेलाडी छनौट गर्ने भएको यादवले बताए । ‘खेलाडी छनौट गर्नको लागि चाँडै विराटनगरमा ट्यालेन्ट हन्टको पनि आयोजना गर्दैछु,’ उनले भने, ‘यस ट्यालेन्ट हन्टबाट २÷३ जना खेलाडी टिममा राख्नेछु । त्यसपछि उत्कृष्ट हुने खेलाडीहरूलाई पनि भारतको हरियाणमा रहेको एकाडेमीमा निःशुल्क प्रशिक्षण दिने व्यवस्था गर्नेछु ।’
आफुले सुपर किङ्सको जिम्मा लिएसँगै विराटनगरको क्रिकेटको विकासमा लागि पर्ने यादवले बताए । ‘सुपर किङ्सको जिम्मा लिएपछि मेरा दायित्व पनि बढेको छ । यहाँको क्रिकेट क्षेत्र विकास गरेर अगाडी बढाउनेछु,’ उनले भने, ‘यहाँ आठ वर्ष रहनेछु । आफुले सक्दो रूपमा यहाँको क्रिकेट क्षेत्रका विकासमा ध्यान दिनेछु ।’ यादव विराटनगर सुपर किङ्सको लागि क्यानसँग आठ वर्षको लागि सम्झौता गरेको छ ।
फ्रेन्चासी लिग क्रिकेट प्रतियोगितामा पाँच जना अनिवार्य रूपमा अन्र्तराष्ट्रिय र बाँकी रहेको ६ जना खेलाडी स्वदेशका राख्नुपर्ने नियम रहेको छ । यादवले सुपर किङ्सको जिम्मा लिएसँगै विराटनगर १९ मा रहेको बैजनाथपुर क्रिकेट मैदानको निरीक्षण पनि गरेको छन् । उनले क्रिकेट मैदानको स्थरउन्नती गरी विकासमा आफ्नोतर्फबाट सहयोग गर्ने बताए ।