कुशवाहा समाजको भवन निर्माणमा विराटनगर महानगरले आर्थिक सहयोग गर्ने

बिनाेद मेहता आइतबार, भाद्र १२, २०७९

कुशवाहा समाजको भवन निर्माणमा विराटनगर महानगरले आर्थिक सहयोग गर्ने भएको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले कुशवाहा समाजको भवन निर्माणमा महानगरले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।
शनिबार विराटनगरमा नेपाल कुशवाहा कल्याण समाज मोरङद्वारा आयोजित २४औं कुश जयन्ती समाहरोलाई सम्बोधन गर्दै कोइरालाले यस्तो प्रतिबद्धता गरेका हुन्।
मेयर कोइरालाले कुशेऔँशीलाई आफूहरूले बुवाको मुख हेर्ने दिनका रूपमा मनाउँदै आएको बताउँदै राजा कुश अर्थात् भगवान कुशको सन्तान कुशवाहाहरु हुन् भन्ने कुरा आज थाहा पाएको पनि बताए।

कुशवाहा समाजको भवन निर्वाण भएमा धर्म र सांस्कृतिकको जागरण हुने कोइरालाले बताए। महानगरले जग्गा उपलब्ध गराउन धेरै प्रक्रियाहरु पुर्याउनु पर्ने भएकोले जग्गा दिन नसके पनि आर्थिक सहयोग गर्ने उनको भनाइ छ।

नेपाल कुशवाहा कल्याण समाजले स्थापना भएदेखि विभिन्न कार्यक्रम गरी कुश जयन्ती मनाउँदै आएको छ। नेपाल कुशवाहा कल्याण समाज मोरङको नाममा महानगरमा १ कठ्ठा र कटहरीमा १ कठ्ठा १० धुर र बेलबारीमा १० धुर गरि ३ कठ्ठा जग्गा रहेको छ।

यहाँ कमेन्ट गर्नुहोस्