प्रहरी हौं भन्दै लुटपाट गर्ने तीन जना पक्राउ

जनता अभियान शुक्रबार, भाद्र ३१, २०७९

प्रहरी हौं भन्दै नगद ३० लाख २३ हजार दुई सय आठ रुपैयाँ लुटपाट गरेको अभियोगमा तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका-१ घर भई भक्तपुर लोकन्थली बस्ने २९ वर्षीय योगेन्द्र तामाङ, सिन्धुली मरिन गाउँपालिका-३ घर भई काठमाडौं कपन बस्ने ३० वर्षीय देव लामा र रामेछाप सुनापाती गाउँपालिका-१ घर भई काठमाडौं कपन बस्ने २० वर्षीय मीनबहादुर तितुङ(रोहित) रहेका छन्।

काठमाडौं ठमेलस्थित ओरियन्टल मनी एक्सचेन्ज बन्द गरी कोठा जाने क्रममा म्हैपी पानी ट्यांकी नजिक तीनवटा मोटरसाइकलमा आएका उनीहरूले भदौ २२ गते साँझ प्रहरी हौँ भन्दै पीडितलाई जबरजस्ती मोटरसाइकलमा राखेर डल्लु पुर्‍याएका थिए।

त्यसपछि उनीहरू नगद, मोबाइल, लाइसेन्स र ब्लुबुकसमेत रहेको झोला लुटपाट गरी फरार भएका थिए।

जाहेरीपछि अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनवभवनबाट खटिएको प्रहरीले उनीहरूलाई घटनामा प्रयोग भएको मोटरसाइकलसहित काठमाडौं कपनबाट पक्राउ गरको हो।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै पक्राउ परेका उनीहरूलाई अपहरण तथा डाँका चोरी कसूर मुद्दामा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्