फाइनल प्रवेश गर्न भारतको सामना गर्दै नेपाल

जनता अभियान शुक्रबार, भाद्र ३१, २०७९

घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले साविक विजेता भारतकाे सामना गर्दै छ।

दोस्रो सेमिफाइनलको सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु हुने छ।

यस खेलमा दुवै टोली एकार्कालाई हराउँदै फाइनल पुग्ने योजनामा हुने छन्। तर, भारतविरुद्ध जित निकाल्न नेपाललाई त्यति सहज छैन। किनकि, हरेक संस्करणमा नेपाल भारतसँग निराश हुँदै आइरहेको छ।

गत संस्करणमा नेपाल र भारतले उपाधिका लागि भिडन्त गरेका थिए। विराटनगरमा भएको सो फाइनल खेलमा भारत हाबी भएको थियो।

नेपाल अपराजित रहेर समूह ‘बी’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोलले र दोस्रो खेलमा श्रीलंकालाई ६-० गोलान्तले हराएको थियो।

भारत भने समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो। समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३-० को हार व्यहोरेको थियो।

यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन्। बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजेबाट सुरु हुने छ।

यहाँ कमेन्ट गर्नुहोस्