जनता अभियान सोमबार, आश्विन १०, २०७९
अधिकांश अभिभावकहरू आफ्ना छोराछोरीलाई ‘बोर्डिङ स्कुल’ मा भर्ना गरिदिएर गर्व गर्छन्।
आम भाषामा बोर्डिङ भनेको निजी विद्यालय हो, जहाँ पढ्ने आफ्ना सन्तान ‘रोबर्ट’ बन्नेमा विश्वस्त देखिन्छन्, अभिभावक।
अभिभावक सकभर बोर्डिङ स्कुलमा नै आफ्ना छोराछोरी पढाउन खोज्छन्। नसके पनि गर्वका साथ मेरा छोराछोरी सरकारी स्कुलमा पढ्छन् भनेर भन्न सक्दैनन्। अभिभावकको यस्तो मनोविज्ञानले सामुदायिक विद्यालयप्रतिको उदासीनता प्रष्ट पार्छ।
भौतिक संरचनाका हिसाबले जतिकै ठुलो विद्यालय किन नहोस्, अभिभावकहरू गर्वका साथ सामुदायिक विद्यालयमा पढाउँछु भनेर भन्न सक्दैनन्। किनकि, सामुदायिक विद्यालयको अवस्था उत्साहप्रद छैन। पुरातन पठन पद्धति, साँघुरो कक्षाकोठा, अपर्याप्त पठन सामग्री, भद्रगोल व्यवस्थापन अनि न्यून विद्यार्थी संख्या।
हो, सरकारले बर्सेनि शिक्षा क्षेत्रका लागि खर्बौं रुपैयाँ खर्चिन्छ। तर पनि अभिभावकहरू सामुदायिक विद्यालयको सुलभ शिक्षा छोडेर किताबझैँ भारी रकम तिर्नुपर्ने निजी बोर्डिङ रोज्छन्। यसैको नतिजास्वरूप सामुदायिक विद्यालयको कक्षाकोठा रित्तिँदै छ भने निजी स्कुलले धाक फुलाएर विद्यार्थी थुतेको छ।
यस्तै निराशा थियो, सुनसरीको देवानगन्ज गाउँपालिका-५ साहेबगन्ज आसपासका अभिभावकहरूमा।
तर, एउटा प्रधानाध्यापकको आगमनबाट स्थानीय अमरसिंह माध्यमिक विद्यालयमा आमूल परिवर्तन आएपछि भने ढुक्क छन् उनीहरू।
वि.सं २००७ मा स्थापित उक्त विद्यालय आजभन्दा सात वर्ष अगाडिसम्म सरकारी विद्यालयजस्तै रह्यो, अव्यवस्थित।
भौतिक संरचना, शिक्षण सिकाइ, विद्यार्थी अनुशासनदेखि लिएर हरेक कुरा अव्यवस्थित। तर २०७२ सालमा शिक्षक ईन्द्रदेव गुप्ताको आगमन भयो। एउटा शिक्षकको रूपमा मात्र।
बर्जुस्थित नेरा माविबाट साहेवगन्ज सरुवा भएका उनले दुई वर्षसम्म शिक्षकमै रहेर मेहनत गरे। अथक मेहनतकै कारण दुई वर्षपछि उनी प्रधानाध्यापक बने। त्यसपछि सुरु भयो, विद्यालयमा गुणस्तर विस्तारको काम। अहिले विद्यालयले पाँच वर्षको अवधिमा छुट्टै परिचय बनाउन सफल भएको छ।
विद्यालयको सुविधा सम्पन्न भौतिक संरचना छन्, प्रविधिमैत्री शिक्षण सिकाइ पद्धति लागू गरिएको छ अनि व्यवस्थापन पनि चुस्त छ। त्यसै कारण पनि विद्यालयमा विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ। सामुदायिक विद्यालय भए पनि निजीको सक्षम प्रतिस्पर्धीको रूपमा प्रस्तुत भएपछि टाढा-टाढा सिन्धुली र सोलुखुम्बुसम्मका विद्यार्थी पढ्न आउँछन्।
टाढाबाट आउनेलाई सुलभ छात्रावासको सुविधा भएका कारण सिन्धुली र सोलुका मात्र होइनन्, दाङ, झापा, संखुवासभाका विद्यार्थी पनि आउँछन्। निःशुल्क होस्टलको व्यवस्था रहेका कारणले पनि बाहिरी जिल्लाका विद्यार्थीको आकर्षण बढेको गुप्ता बताउँछन्।
आफ्नै कारण विद्यालयमा आमूल रूपमा परिवर्तन आए पनि यसको श्रेय एक्लै लिन चाहँदैनन्, उनी। उनी विद्यालयका कर्मचारी, प्रधानाध्यापक, व्यवस्थापन समिति, स्थानीय र गाउँपालिकाको सहयोगका कारण विद्यालयले आफ्नो फरक परिचय बनाउन सफल बताउँछन्।
‘म एक्ललै होइन, बरू मेरो नेतृत्वमा विद्यालयमा परिवर्तन सम्भव भएको छ,’ उनी भन्छन्, ‘यसमा व्यवस्थापन समिति, गाउँपालिका र स्थानीय स्वयंको पनि देन छ। मेरो बलमा उहाँहरूको होस्टेमा हैँसे छ।’ पाँच वर्ष अघिसम्म जीर्ण अवस्थामा विद्यालयको विकासमा देवानगन्ज गाउँपालिको ठुलो सहयोग रहेको गुप्ता बताउँछन्।
आधारभूतबाट सुरू भएर प्राविधिक शिक्षामा जोड
अमरसिंह मावि २००७ सालमा स्थापना भई २०३४ सालदेखि निम्न माध्यमिक तहसम्मका कक्षा सञ्चालन सुरु भएको थियो। यस्तै २०४६ सालदेखि माध्यमिक विद्यालयका रूपमा स्थापना भएको सो विद्यालयमा २०६७ सालबाट प्लस टु तहको पठनपाठन सुरू भएको थियो।
शिक्षा शास्त्रबाट प्लस टु सुरू गरेको उक्त विद्यालयले वि.सं. २०७३ सालबाट प्राविधिक शिक्षा सुरू गरेको थियो। विद्यालयले प्राविधिकतर्फ भेटेरिनरी साथै पशुपालनसम्बन्धी पढाइ सुरु गरेको हो। प्राविधिकतर्फको पढाइ सुरू भएपछि विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक गुप्ताको भनाइ छ।
२०७२ सालतिर विद्यालयमा करिब चार सय विद्यार्थीहरू मात्र थिए। तर २०७३ सालदेखि भेटेरिनरी तथा पशुपालन विषयको पठनपाठन सुरू भएसँगै विद्यार्थीहरूको चाप एक्कासि बढेको उनले बताए। हाल विद्यालयमा कुल आठ सय ७५ जना विद्यार्थीहरू अध्ययनरत छन्। भेटेरिनरी तथा पशुपालन विषयको अध्ययन-अध्यापनका लागि विद्यालयले विद्यालयनजिकै डेढ बिगाहा क्षेत्रफलमा बङ्गुर, बाख्रा, कुखुरा तथा हाँस पालनको तयारी गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेशप्रसाद शाह बताउँछन्।
उनका अनुसार अत्याधुनिक डिजिटल कक्षाकोठा, बहुउद्देश्यीय हल, प्रशोधित शुद्ध खानेपानी, अत्याधुनिक विषयगत प्रयोगशाला, लाइब्रेरी, कम्प्युटर ल्याब, खेलमैदान, मन्दिर र सुरक्षित पार्किङ स्थल विद्यालयका प्रमुख विशेषता हुन्। विद्यालयमा प्रदेशस्तरीय ल्याबसमेत छ।
देशकै नमुना विद्यालय बनाउने चाहना
अमरसिंह माविले अहिले पनि सुनसरीकै नमुना विद्यालयको पहिचान बनाउन सफल भएको छ। तर गाउँपालिका भने यसलाई अझ विस्तार गरी देशकै नमुना बनाउने लक्ष्यमा छ। ‘प्रअ गुप्ताका कारण अमरसिंह मावि सुनसरीकै नमुना विद्यालय बन्न सफल छ, यसमा हामीले गर्व मान्नुपर्छ’, देवानगन्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईं भन्छन्, ‘अब यसलाई अझ चुस्त बनाएर देशकै नमुना विद्यालय बनाउने लक्ष्य पालिकाको छ।’
तीन करोडको लगानीमा भवन निर्माण, शुद्ध खानेपानी र कम्पाउन्डवाल निर्माणको काम सम्पन्न भएको उनले बताए। ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्र, स्थानीय सरोकारवाला र गाउँपालिको भरपुर सहयोगले विद्यालयमा आमूल परिवर्तन सम्भव भएको हो,’ उनले भने।
नेपाल-भारत सीमा क्षेत्र नजिकै भएका कारण सुरक्षा चुनौती बनेको तथा केन्द्रीकरण नभएको देखिन्छ। ग्रामीण भेगमा तथा एक कुनामा विद्यालय अवस्थित रहेको तथा विद्यार्थीलाई सुरक्षाका हिसाबले मात्र नभएर स्वास्थ्यको हिसाबले पनि चुनौती छैन? भन्ने प्रश्नमा विद्यालयका प्रअ गुप्ता भन्छन्, ‘हामीले सीमामा खटिने सुरक्षाकर्मीबाट राम्रो सहयोग पाइरहेका छौँ। अझ एक जना अहेव तथा भेटेरिनरीका शिक्षकहरूबाटै पनि प्राथमिक उपचार पाइरहेका छन्। अनि ग्रामीण भेगका अधिकांश विद्यार्थीहरू शिक्षाबाट बञ्चित रहेकाले उनीहरूलाई पनि गुणस्तरीय शिक्षाको मूलधारमा ल्याउन यस विद्यालयमा गाउँपालिकाले थप लगानी गरेको हो।’
पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई संलग्न गराउने भएकोले यस विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ। विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने कुरामा शिक्षक र विद्यालय व्यवस्थापन समिति एकदमै मेहनेत गरेर लागिरहेको छ।
इच्छाशक्ति भए गर्न सकिँदो रहेछ भन्ने विषयको प्रत्यक्ष उदाहरण हो, अमरसिंह मावि। प्रदेश १ मा अरू पनि थुप्रै विद्यालय छन्, जसप्रति हालसम्म तीनै तहको सरकारको ध्यान पुग्न सकेको छैन।