सन्दीप असोज २० गते नेपाल आउने

जनता अभियान आइतबार, आश्विन १६, २०७९

नाबालिग बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने असोज २० गते स्वदेश आउने भएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत् सन्दीपले आफू अक्टोबर ६ (असोज २०) गते नेपाल आउने जानकारी दिएका हुन्।

नेपाल आएर आफूविरुद्धको ‘झुठो’ आरोपको प्रतिवाद गर्ने बताउँदै उनले नेपालको न्याय प्रणालीमा विश्वास रहेको र आफू निर्दोष रहेको बताएका छन्।

आफूले कुनै गल्ती नगरेको बताउँदै सन्दीपले आफूमाथि लगाइएका ‘गलत आरोप’ का विषयमा समयक्रमसँगै रहस्य खुल्दै जानेमा विश्वस्त रहेको बताएका छन्।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेमाथि १७ वर्षीया बालिकाले बलात्कारको आरोप लगाएकी थिइन्।

भदौ २० गते काठमाडौंको प्रहरी वृत गौशालामा सन्दीपविरुद्ध नाबालिकाले जबरजस्ती करणीको जाहेरी दिएकी थिइन्।

उक्त जाहेरी पर्दा सन्दीप पहिल्यै निर्धारण भएको क्यारेबियन प्रिमियर लिग खेल्न वेस्टइन्डिज पुगेका थिए।

नाबालिका बलात्कार गरेको आरोप लागेपछि सम्पर्कबिहीन भएपछि नेपाल प्रहरीले उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको २३ दिन भइसक्यो।

अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। अहिलेसम्म लामिछाने प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्।

तर सामाजिक सञ्जालमा भने उनी सक्रिय नै छन्। बेलाबेलामा स्टाटस लेखिरहन्छन्।

यहाँ कमेन्ट गर्नुहोस्