नवलपरासीको सुस्तामा बाढी पस्यो

जनता अभियान शुक्रबार, आश्विन २१, २०७९

नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा बाढी पसेको छ । गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुटेर बस्तीतर्फ पानी पसेको हो । फुटेको बाँध अहिले स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरीरहेका छन् ।

नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० घर डुबानमा परेको स्थानीय मुन्सी गुप्ताले बताए ।

नारायणी नदीको बहाव बढ्दो भएकाले बाढीको थप जोखिम रहेको भन्दै सुस्ताका स्थानीयलाई सुरक्षाकर्मीले सामुदायिक भवन र विद्यालयमा सुरक्षित स्थानमा राखेका छन् । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलका अनुसार सुस्तामा रहेका सुरक्षाकर्मी र स्थानीयले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राखेको र थप सहयोग पठाउन लागिएको बताए ।

तीनतर्फबाट नारायणी नदी र एकतर्फबाट भारतीय सिमाना रहेको सुस्ता बस्तीमा उद्धारका लागि पनि भारतीय भुमि हुँदै जानुपर्ने बाध्यता छ । वर्षौंदेखि नारायणी नदीमा पुल निर्माण नहुँदा डुंगामा आवतजावत गनुपर्ने बाध्यता छ ।

यहाँ कमेन्ट गर्नुहोस्