बारामा ठूलो परिणाममा नक्कली नोटसहित ३ जना पक्राउ

जनता अभियान सोमबार, आश्विन २४, २०७९

बाराबाट प्रहरीले ठूलो परिणाममा नक्कली नोट सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहार राज्यका २५ वर्षीय रञ्जित कुमार मुखिया, बारा कलैया उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीय सैनुल्लाह अंसारी, बारा सिम्रौनगढ नगरपालिका–२ बस्ने ३६ वर्षीय बिनाका मुखिया बिनलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट ९ लाख रुपैयाँको नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । असोज २१ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले सिम्रौनगढ –५ कनकपुर टोलबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

सुरुमा प्रहरीले रञ्जितले कम्मर पेटीको भागमा लुकाएर ल्याएको नेपाली १ हजार दरका नोटको १ ठेली र उसले चलाएर आएको मोटर साइकलको सिट मुनीबाट ८ ठेली गरी ९ ठेली नक्कली जस्तो देखिने ९ लाख नोट फेला पारेको थियो ।

उनीसँग सोधपुछ गर्दा उक्त नोट सैनुल्लाह र बिनाकाले मगाएको भनी उनले बयान दिएका थिए । त्यसपछि असोज २३ गते प्रहरीले उनीहरु दुवैजनालाई पक्राउ गरेर ल्याएको थियो । प्रहरीका अनुसार बिनाका यसअघि पनि जाली नोटको कारोबार गरेको आरोपमा दुई पटक पक्राउ परिसकेका व्यक्ति हुन् ।

यहाँ कमेन्ट गर्नुहोस्