साढे चार किलो चाँदीसहित रुपन्देहीमा दुई जना पक्राउ

जनता अभियान शुक्रबार, आश्विन २८, २०७९

भारतबाट भन्सार छलेर ल्याउँदै गरेको साढे चार किलो चाँदीसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतीय नागरिक २५ वर्षीय शैलेन्द्र बर्मा र २६ वर्षीय सतेन्द्र बर्मा रहेका छन्।

युपी२५८९९१७ नम्बरको मोटरसाइकलमा सवार जिल्ला महाराजगञ्ज थाना कोलहीका दुबैलाई सिद्धार्थनगर नगरपालिका-२ मेउडिहवाबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

भारतबाट चाँदी नेपाल ल्याइँदै गरेको छ भन्ने सूचनाका आधारमा बिहीबार अपराह्न ५ बजे प्रहरी टोली खटिएको थियो।

चेकजाँच गर्ने क्रममा मोटरसाइकलको डिकीभित्र लुकाएर राखेको चार किलो ५२२ ग्राम चाँदी फेला परेको थियो।

बरामद चाँदी र पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ।

यहाँ कमेन्ट गर्नुहोस्