जयरानीको लक्ष्य अन्तर्राष्ट्रिय खेलमा देशलाई पदक दिलाउने

जनता अभियान सोमबार, आश्विन ३१, २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितिन्।

नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पारिनन्, तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमानसमेत सुधार गरिन्।

थारुले गएको असारमा काठमाडौंमा सम्पन्न ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७.०२ सेकेण्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भएकी थिइन्।

जयरानी नवौंको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताउँछिन्। आफ्नो विधामा खेलमा प्रतिस्पर्धा कम हुने भएकाले समेत उनले सुधार गर्ने लक्ष्य राखेको बताउँछिन्।

‘कीर्तिमान सुधार गर्दा धेरै नै खुसी छु। आफूले सोचेको भन्दा राम्रो खेल भयो। टार्गेटनै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ,’ उनले भनिन्।

राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा रहेका आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाइन्। आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताइन्।

‘बुवा घरमा हुनुहुँदो रैनछ आमालाई फोनमा स्वर्ण जितेंभन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौ भनेर हौसला दिनुभयो,’ उनले भनिन्।

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ। ‘स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ। अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ,’ उनले भनिन्।

जयरानीले २०७२ देखि खेल्न थालेकी हुन्। त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेल्थिन्।

सातौं राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उनले आठौंमा तत्कालीन प्रदेश नम्बर ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितेकी थिइन्।

आठौंमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्धितीय हुनुभएका जयरानीले नवौंमा आर्मीबाट खेल्दै स्वर्ण जित्ने अवसर उनलाई मिल्यो। उनी २०७६ साउनमा सेनामा भर्ना भइन्। गाउँले दाइ जीवन चौधरी जो आफू पनि खेल्थे, उनले नै जयरानीलाई सेनामा प्रवेश गराउन सहयोग गरेको जयरानीको भनाइ छ। आफूलाई खेल जीवनमा प्रवेश गराउन घरबाट बुबा भगवान डिन थारुको धेरै नै साथ र सहयोग मिलेको जयरानीले बताइन्।

सामान्य कृषक परिवारका जयरानीलाई आमाले घरको काम गर्नुपर्दछ भन्ने गरे पनि बुवाले खेलमै लाग्न प्रेरित गर्ने गरेको उनले सुनाइन्। उनले विगत स्मरण गर्दै भनिन्, ‘सानोमा आमाले घरको काम कसले गर्छ घरको काममा सहयोग गर्नुपर्दछ भन्नुहुन्यो, बाबा चाँही खेल खेल्नुपर्दछ भनेर मलाई अघि बढ्न प्रेरणा दिइरहनभयो, बुबा कृषक भए पनि खेलकुदलाई मन पराउनुहुन्थ्यो।’

सुरूमा चाहिँ उनलाई खेलमा लाग्न सहयोग गर्ने कोही नभए पनि पछि विद्यालयमा राम्रो गरेपछि विद्यालयमै निःशुल्क बस्ने र खेल्ने वातावरण मिल्यो। जयरानीले गुरुआमा मान्ने सुमित्रा चौधरी जो बर्दियाकै छिन् र अहिले एथलेटिक्स प्रशिक्षकसमेत छिन्। उनले नै विद्यालयमा होस्टलमा बस्नेदेखि खेलकुदका प्रतियोगितामा सहभागी हुनका लागि सहयोग गरेको थारुले बताइन्।

‘मलाई खेलमा पाइला टेकाउने सुमित्रा चौधरी गुरुआमाले हो। उहाँको साथ, सहयोग मलाई जहिले पनि मिलिरहेको छ,’ जयरानीले भनिन्।

यहाँ कमेन्ट गर्नुहोस्