जनमतसंग्रहदेखि जय नेपाल भन्दै आएका मेहता जब लालसलाम भन्न थाले

जनता अभियान सोमबार, कार्तिक ०७, २०७९

२०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी सुरू भइसकेको थियो।

पार्टीका स्थानीय समितिले उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेको थियो।

सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचनतर्फ ‘ख’ बाट पहिलो नम्बरमा रामप्रसाद मेहताको नाम सिफारिस भएको थियो।

तर, टिकट राजीव कोइरालाले पाए। उनी त्यतिबेला कांग्रेसको जिल्ला सभापति थिए।

‘पार्टीका स्थानीय समितिले गरेको निर्णयको मतलबै भएन, प्रतिनिधिसभामा पनि उही प्रवृत्ति,’ मेहेताले भने, ‘पञ्चायतविरोधी आन्दोलनदेखि जय नेपाल भनेर हिँडेको मैले कांग्रेसमा विद्रोह गरे, लालसलाम भन्न थालें।’

पार्टीपंत्तिमा टिकट नपाएको झोंकमा पार्टी छोडेको आरोप उनले खेपे। आरोपबीच सुनसरी क्षेत्र नम्बर २ को विकासमा सिन्को नभाँचिएको अवस्था देखेका उनले त्यो क्षेत्रको विकासका लागि चुनाव लड्न खोजेका थिए।

पार्टी छोडेर तत्काल एमाले प्रवेश गरेका मेहता कोइरालाको विरूद्धमा उठे।

प्रतिनिधिसभा निर्वाचनमा सीताराम मेहेता र प्रदेशसभामा कोइरालाले नै बाजी मारे।

तर, सुनसरी क्षेत्र नम्बर २ को मुहार फेरिएन।

‘यो क्षेत्रको कति विकास भयो भन्ने कुरा हेर्न इनरुवाको कौवाखोचदेखि देवानगञ्ज गाउँपालिका-४ सम्मको बाटो हेरे पुग्छ,’ मेहताले भने।

मेहताले भनेजस्तै छ त्यो बाटो। सदियौं वर्षदेखि धुलो उड्ने त्यो सडक कहिल्यै पिच हुँदैन। त्यही बाटो पिच गर्ने एजेन्डा लिएर सीताराम मेहता दुई पटक सांसद बनिसके। त्यही एजेन्डा दोहोर्‍याएर कोइराला पनि उठेका छन्।

‘पात्र फेरिएनन्, अनुहार फेरिएनन्, यसपालि पाँच वर्षका लागि हामीलाई अवसर दिनुस् भनी जनतासँग भोट मागिरहेका छौं,’ रामप्रसादले भने।

एमालेले यसपालि यो क्षेत्रमा रामप्रसादसहित भीम आचार्यलाई प्रतिनिधिसभामा उठाएको छ। ‘क’ मा बौद्धिक छविका नेता रेवतीरमण भण्डारीलाई एमालेले उठाएको छ। भण्डारीको विरूद्धमा सत्ता गठबन्धनले द्वारिकलाल चौधरीलाई उठाएको छ। एमाले त्यागेर भर्खरै माओवादी केन्द्र प्रवेश गरेका चौधरी गठबन्धनका उम्मेदवार बनेका छन्।

एमालेलाई जनता समाजवादीको साथ छ।

विकास र समृद्धिका लागि यसपालि जनताले आफूलाई मत दिनुपर्ने र मतदाता पनि विकास नभएकोमा कांग्रेस नेतृत्वसँग असन्तुष्ट छन्।

रामप्रसादका चुनावी एजेन्डा छन्। ती जनताको जीविकासँग लक्षित छन्।

मेहता संलग्न रहेको जल उपभोक्ता संस्था छ। त्यसले सुनसरी-मोरङमा ६८ हजार हेक्टर कृषिक्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ।

‘चैतको बेला सुनसरी-मोरङ सिँचाइ आयोजनामा पानी राम्रोसँग आउँदैन, त्यही सिँचाइ आयोजनालाई विकास गरी चैतमा भरिपूर्ण पानी आउने बनाउने हाम्रो लक्ष्य हो,’ उनले भने।

मेहता राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघका उपमहासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष बनिसकेका व्यक्ति हुन्। उनले किसानका समस्या नजिकबाट देखेका छन्।

इनरुवामा आँखा अस्पताल बनाउने उनको अर्को एजेन्डा छ।

उनी २०४९ सालदेखि नेपाल रेडक्रस सोसाइटीमा बसेर सामाजिक सेवामा खटिएका व्यक्ति पनि हुन्। उनी अहिले रेडक्रस इनरुवाका सभापति छन्।

इनरुवामा एम्बुलेन्स सेवा जनताको पहुँचमा नपुगिरहेका बेला उनले रेडक्रसमार्फत् दुई वटा एम्बुलेन्स ल्याए। जसले सुनसरीकै दुर्गम दक्षिणी क्षेत्रका जनतालाई स्वास्थ्य सेवामा सहज भयो। त्यही रेडक्रसमार्फत् अहिले उनी ब्लड बैंक स्थापना गर्न लागेका छन्।

‘चुनावको घोषणा नभएको भए सायद ब्लड बैंक स्थापना भइसक्थ्यो, चुनाव लाग्यो त्यसैले अहिले सो काम थाँती छ,’ उनले भने, ‘चुनावलगत्तै ब्लड बैंक पनि स्थापना हुन्छ।’

यी एजेन्डा साकार पार्न पनि आफू निर्वाचित हुनुपर्ने उनले बताए। ‘प्रतिनिधिमात्र होइन, पार्टीको उम्मेदवार फेर्न सकेनौं भने पाँच वर्ष यो क्षेत्रको विकास रोकिन्छ,’ उनले भने।

प्रदेशसभा ‘ख’ तर्फ रामधुनी नगरपालिका १,२,८,९, इनरुवा नगरपालिकाका १,२,५,६,९ र १०, हरिनगरा गाउँपालिका वडा नम्बर ३ र देवानगञ्ज गाउँपालिकाका सात वटै वडा समेटिएका छन्।

यो प्रदेशसभामा अघिल्लोपटक जितेका कोइराला प्रदेश १ सरकारको संसदीय दलका नेता भइसकेका व्यक्ति हुन्। एमालेबाट अर्को ठाउँ जितेका आचार्य मुख्यमन्त्री भइसकेका व्यक्ति हुन्।

मेहता २०१२ साल असार २ गते इनरुवामा जन्मेका हुन्। उनले राजाजी रामजी महतो दास स्कुलमा पढेका हुन्। उनी २०३६ सालको जनमतसंग्रहदेखि कांग्रेस प्रवेश गरेका थिए।

क्रियाशील सदस्यदेखि उनी क्षेत्रीय सभापति, जिल्ला उपसभापतिसम्म भएका थिए। दुईपटक इनरुवाको मेयरमा उनले दाबी गरे। दुई पटक नै सांसदका लागि दाबी र २०७४ सालमा प्रदेश १ प्रदेशसभामा टिकटका लागि दाबी गरे। तर, पार्टीले प्रदेशसभाको टिकट पनि नदिएपछि आफूले कांग्रेस त्यागेको मेहताले बताए।

यहाँ कमेन्ट गर्नुहोस्