एमाले र जसपा जनप्रतिनिधिलाई दल रोज्न २२ गतेसम्मको समय सीमा

Janata Abhiyan आइतबार, भाद्र १३, २०७८

काठमाडौं,भदौ १३ गते । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समय दिएको छ ।

आयोग प्रवक्ता राजकुमार श्रेष्ठले एमाले र जसपाबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्म समय दिएको जानकारी दिनुभयो । दल रोज्न भदौ २२ गते कार्यलय समयभित्र सम्पर्क गर्नुपर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

सरकारले दल विभाजनसम्बन्धी ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २ गते प्रमाणिकरण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गर्नुभएपनि नेकपा एमाले र जसपा विभाजन भएको थियो ।
एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रि समाजवादी दल बनेको छ । निर्वाचनले दुवै दललाई यही भदौ ९ गते मान्यता दिएको थियो ।

जारी अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था छ । सोही व्यवस्था अनुसार आयोगको आइतबार बसेको बैठकले यही भदौ २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो समयभित्र एमाले र जसपाबाट निर्वाचित एका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी र लोसपामा प्रदेश गर्न चाहेमा २२ गतेसम्म सनाखत गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्यहरुले प्रदेश निर्वाचन कार्यालय र स्थानीय जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर सनाखत गर्नुपर्ने हुन्छ । सनाखतको लागि जाँदा सक्कल नागरिकता वा मतदाता परिचय प्रमाणपत्र, निर्वाचित भएको वा प्रदेशसभा–स्थानीय तहबाट जारी परिचयपत्र वा प्रमाणपत्र लैजानुपर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्