पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

जनता अभियान बिहिबार, कार्तिक १७, २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेका इमरान घाइते भएका छन्।

बिबिसी हिन्दीका अनुसार पाकिस्तानको गुजरानवालाको अल्लाहवालामा एक कन्टेनरनजिकै बिहीबार भएको गोली हानाहानमा पूर्वप्रधानमन्त्री तथा पिटिआईका अध्यक्ष खान घाइते भएको उल्लेख छ।

बिहीबार दिउँसो पूर्वी पन्जाब प्रदेशको वजिराबाद जिल्लामा खानमाथि गोली प्रहार भएको हो।

बिबिसीले पिटिआइका नेता डा. यास्मिन राशिदलाई उद्धृत गर्दै खान घाइते भएको बताएको छ।

यस्तै, बिबिसी उर्दूका अनुसार उक्त हमलामा सांसद फैसल जावेद पनि घाइते भएका छन्।

हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको हो। गोली चलेपछि मार्चका क्रममा भागदौड मच्चिएको थियो। कन्टेनरमा सवार पिटिआईका नेतासहित सबै आत्तिएका थिए।

गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो। गोली लागेर घाइते भएकाहरूलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ।

आक्रमणमा संलग्न आरोपित एक जनालाई हिरासतमा लिइएको जनाएको छ। घाइते पूर्वप्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ।

यहाँ कमेन्ट गर्नुहोस्