कांग्रेसले २ र एमालेले जित्यो १ सिट, माओवादी र समाजवादीले खोलेनन् खाता

जनता अभियान मंगलबार, मंसिर ०६, २०७९

प्रतिनिधिसभा निर्वाचनको पछिल्लो मतपरिणाम प्राप्त भएको छ। मंगलबार बिहान राति १ बजेको परिणाम अनुसार नेपाली कांग्रेस दुई स्थानमा विजयी भएको छ।

नेकपा (एमाले)ले एक स्थानमा जित हासिल गरेको छ। कांग्रेसले हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाट जितको सुरुवात गरेको छ भने एमालेले ललितपुर क्षेत्र नम्बर २ मा जित हासिल गर्दै खाता खोलेको छ।

मुस्ताङको प्रतिनिधिसभा सदस्यमा कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्। नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई राजनीति सुरु गर्नुभएका २९ वर्षीय उनी पर्यटन व्यवसायीसमेत हुन्। उनी बुबा पूर्वमन्त्री रोमी गौचनले पाएको टिकटबाट लडेका थिए।

साथै, कांग्रेसले मनाङमा पनि जित हासिल गरेको छ। मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। कांग्रेस केन्द्रीय सदस्य गुरुङ पूर्वराज्यमन्त्री हुन्।

नेकपा एमालेले भने ललितपुरबाट जितको खाता खोलेको छ। ललितपुर क्षेत्र नम्बर २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी भएका छन्। उनले १५ हजार २५ मत प्राप्त गरे।

निर्वाचन आयोगका अनुसार मंगलबार बिहान राति १ बजेसम्म नेपाली कांग्रेसले ३५ वटा स्थानमा अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ३२ स्थानमा अग्रस्थानमा छ।

नेकपा (माओवादी केन्द्र) ९ स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी ८ स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ स्थानमा र अन्यले १९ स्थानमा अग्रता कायम गरेका छन्।

यस्तै, मुस्ताङको दुवै प्रदेशसभामा कांग्रेस विजयी भएको छ। प्रदेशसभा  १ मा नम्डू गुरुङ र प्रदेशसभा २ मा विकल शेरचन विजयी भएका छन्।

मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका  छन् भने प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म प्रदेशसभामा कांग्रेस ७ स्थानमा, एमाले ६ स्थानमा अग्रस्थानमा छ। साथै राप्रपा २, नेकपा (एकीकृत समाजवादी) २ स्थानमा अग्रता कायम गरेका छन्।

यहाँ कमेन्ट गर्नुहोस्