नवलपरासीमा मतगणनास्थलनजिकै खुकुरी प्रहार, दाजुको मृत्यु, बहिनी घाइते

जनता अभियान बुधबार, मंसिर ०७, २०७९

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ को मतगणना भइरहेको बर्दघाट नगरपालिकानजिकै मंगलबार राति खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ। घटनामा एक महिला घाइते भएकी छन्।

मृत्यु हुनेमा बडिगाड गाउँपालिका-४ बाग्लुङका ४६ वर्षीय दिलीप पुन छन्। उनक घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।

घटनामा उनकी बहिनी ३५ वर्षीया विष्णु ताउछा घाइते भएकी छिन्। मृतक र घाइते दाजुबहिनी भएको पाण्डेले पुष्टि गरे। घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको पाण्डेले बताए।

बर्दघाट नगरपालिका-४ मा मंगलबार राति ८ बजेतिर खुकुरी प्रहार भएको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

घटना घटेको स्थानमा गैंडाकोट लेखेका केही कार्ड भेटिए पनि अरू केही नखुलेको उनले बताए।

मतगणनास्थलबाट करिब एक सय मिटरको दुरीमा सो घटना भए पनि खुकुरी प्रहार गर्ने समूहको पहिचान भइसकेको छैन।

‘हामी घटनास्थलमै छौं, अनुसन्धान गरिरहेका छौं, के कसरी घटना भएको हो खुलेको छैन,’ प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए।

यहाँ कमेन्ट गर्नुहोस्