सञ्चारमन्त्री कार्की उठेको सुनसरी ४ को मतगणना आइतबार बिहान ८ बजेसम्म स्थगित

जनता अभियान शनिबार, मंसिर १०, २०७९

सहमति नजुट्दा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उठेको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना सुचारु हुन सकेको छैन।

नेपाली कांग्रेसले विवाद निकालेपछि शनिबार अपरान्हबाट सो क्षेत्रमा मतगणना स्थगित भएको थियो।

लगत्तै सर्वदलीय बैठक बसेकोमा सहमति जुट्न नसकेपछि आइतबार बिहान ८ बजेसम्मका लागि गणना स्थगित भएको एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले बताए।

‘भोलि बिहान ८ बजे फेरि सर्वदलीय बैठक बस्ने गरी हाललाई गणना स्थगित गरिएको छ,’ कुसियैतले जनता अभियानसँग भने, ‘आज सहमति जुटाउनका लागि धेरै प्रयत्न भयो, तर सहमति जुट्न सकेन।’

कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको थियो।

पछिल्लो मत परिणाम अनुसार कार्कीले २३ हजार ४ सय ३९ मत ल्याएका छन्।

कुसियैतले २३ हजार ३ सय ४१ मत पाएका छन्। कुसियैत पछिल्लो गणनामा कार्कीभन्दा ९८ मतले पछि परेका छन्।

सञ्चारमन्त्री कार्की यसअघि सोही क्षेत्रबाट विजयी भएका थिए। भोजपुर छोडेर सुनसरी झरेका कार्कीले त्यसबेला सहजै परिणाम निकाले पनि यसपालि कुसियैतले चुनौती दिइरहेका छन्।

कुसियैतलाई जनता समाजवादी पार्टीको साथ छ भने कार्की सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन्।

यहाँ कमेन्ट गर्नुहोस्